११ बैशाख २०८१, मंगलवार 1713929894
Banner

‘मन्कीपक्स’विश्वव्यापी समस्या बन्दै

कोरोना महामारीबाट संसार मुक्त हुन नपाउँदै अर्को भाइरल सङ्क्रमणको कारण समस्या उत्पन्न हुन थालेको छ। यूरोपका धेरै देशमा मन्कीपक्सको समस्या देखिएको छ। पछिल्ला दिनमा मन्कीपक्स १२ देशका ८० जनामा पुष्टि भइसकेको छ। यसले गम्भीर समस्या उत्पन्न गर्ने सम्भावना भने कमै छ।

अहिले नै कोभिड महामारी कालमा जस्तो फेरि विकराल रूप धारण गर्ने या हामी घरभित्र नै बस्नु पर्ने त छैन भनेर आत्तिनु पर्दैन। यसका बाबजुद यो भाइरस कत्ति धेरै फैलन सक्छ ? कत्ति असर गर्छ र कसरी आफ्नो स्वरूपमा परिवर्तन गर्छ भन्ने बारेमा अध्ययन वैज्ञानिकका लागि चुनौती बनेको छ। यी सबैका बारे सामान्य अनुमान भने भएका छन्।यो भाइरसको मुख्य स्थान जङ्गली जनावरको शरीर नै हो। यो प्राय बाँदरको शरीरमा हुन्छ। पश्चिमी अफ्रिकाको घना जङ्गलमा सङ्क्रमित कुनै व्यक्तिको सम्पर्कमा भाइरस बसेको तथा यो विस्तारै अन्य जनावरमा सर्ने गरेको छ। यो रोग लागेपछि ठूलो फोका या खटिरा आउने गरेको छ।

अफ्रिकी महादेशमा भ्रमण गर्ने कसैबाट यो रोग सरेको अनुमान गरिएको छ। अहिले बेलायतमा फेला परेको केही तथ्यले त्यहाँका वैज्ञानिकलाई चिन्तित तुल्याएको हो। पहिलो पटक अफ्रिकासँग कतै सम्पर्क नभएको व्यक्तिमा यो सङ्क्रमण देखिएको छ। को बाट सरेको होला भन्ने अनुमान गर्न पनि कठिन भएको छ।यो सङ्क्रमण भएकाको गुप्ताङ्ग छेउमा घाउ भएकाले शारीरिक सम्पर्कका कारण सरेको अनुमान गरिएको छ। यसरी सङ्क्रमित हुनेमध्ये धेरै जना समलिङ्गी र उभय लिङ्गी छन्।

‘हामी अहिले फरक अवस्थामा छौ। यो आश्चर्यजनक र चिन्ता जनक अवस्था हो,’ अक्सफोर्डको पेन्डेमिक साइन्स इन्स्टिच्युटका निर्देशक पिटर हर्बीले भनेका छन्। उनले यसलाई कोभिड–२ को रूपमा लिन नहुने बताएका छन्। तथापि उनले यसको सामना गर्न सचेत हुन जरुरी आवश्यक ठहर गरेका छन्।

यो रोग लागेकाको उपचार गरिरहेका डा. हग अल्डरले पहिले भन्दा मन्कीपक्सको स्वरूप फेरिएको बताएका छन्। यो फैलने क्रम पनि फरक छ। अहिले त्यही पुरानो भाइरस हो या केही परावर्तन भएर त्यहाँ आएको हो भन्ने थाहा पाउन कठिन भएको छ।मन्कीपक्स डिएनए भाइरस हो। तर यसले कोभिड या फ्लुले जस्तो चाँडो रूपमा परावर्तन गर्दैन। यस अगाडि सन् २०१८ र २०१९ मा देखिएको भाइरसकै स्वरूपमा यो देखिएको अनुमान गरिएको छ। यसका कसरी परावर्तन हुन्छ भनेर सबै ठोकुवा गर्नु भनेको हतार पनि हुनसक्छ।

गएको दशकमा इबोला र जिकोको सङ्क्रमणबाट पनि सरुवा रोग विशेषज्ञले यस भाइरसले तुरुन्त आफ्नो रूप परिवर्तन गर्ने सम्भावना कम भएको अनुमान गरेका छन्। इबोला र जिकोमा पनि कोभिडको जस्तो एकदमै चाँडो रूपमा परिवर्तन भएको छैन।

अहिले समलिङ्गी र उभय लिङ्गी मै धेरै किन यो सङ्क्रमण देखियो रु भन्ने चाहिँ अध्ययनको विषय बनेको छ। यो एउटा संयोग मात्र हो। यो एउटा समुदाय सधैँ स्वास्थ्यका बारे सचेत भएर परीक्षण गराउन गइरहेकाले यो देखिएको भन्ने चाहिँ अझ छुट्टिएको छैन।मन्कीपक्सका लागि फैलन त्यत्ति धेरै कठिन हुनसक्छ। विगतमा मन्कीपक्स जस्तै ठेउलाको महामारी रोक्नका लागि पनि व्यापक भ्याक्सिनको प्रयोग भएको थियो।

यो ठेउला भन्दा बढी फैलन पनि सक्छ भन्ने हामीले ठानेका छौ। तर, यो व्यापक नहुनसक्छ। यो फैलिरहेको सङ्क्रमण आफै रोकिने अनुमान गरेका एडलरले भनेका छन्। उनका अनुसार यो कसरी फैलियो भन्ने अध्ययन भयो भने यो कसरी रोकिन सक्छ भनेर पनि थाहा पाउन सकिन्छ। कोबाट कसमा सरेको भन्ने यकिन भएमा यसको अध्ययन सहज हुन सक्थ्यो। तर, अहिले बेलायत लगायत धेरै यूरोपेली देशमा देखिएका केसहरू एक आपसमा असम्बन्धित छन्। यूरोपमा फैलिरहेको यो सङ्क्रमणको एक आपसमा चेन नै देखिएको छैन। यसले नै धेरैलाई आजित तुल्याएको छ।कनै सभा समारोह या कुनै ठाउँमा विभिन्न क्षेत्रबाट आएकामा सङ्क्रमण सरेको हुनसक्ने एउटा अनुमान छ। सङ्क्रमित व्यक्ति आफूलाई थाहा नभएर अन्यसँग सम्पर्कमा रहेकाले यो फैलिएको पनि हुनसक्ने अर्को अनुमान छ।

‘अहिले सामान्य व्यक्ति यस बारेमा चिन्तित हुनुपर्ने अवस्था आइसकेको छैन। साथै यो नियन्त्रण बाहिर गइसकेको भन्ने पनि लागेको छैन’ लण्डन साइन्स अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक डा जिमी ह्वाइटहर्थले भनेका छन्। उनले यो कोभिड जस्तो नभएको टिप्पणी गरेका छन्।

मन्कीपक्सको अहिले नै भ्याक्सिन र उपचार छ। यसले शरीरमा दुख्ने र कठिन हुने खटिरा तयार गर्छ। कोभिडले जस्तो भित्री शरीरमा नै श्वासप्रश्वासमा नै अप्ठेरो हुने काम यसले गर्दैन। विश्व स्वास्थ्य सङ्गठनका यूरोपेली क्षेत्रीय निर्देशक हान्स क्लबगले भने गृष्म ऋतुमा मानिसको भिडभाड, बाक्लो उपस्थिति, पार्टी र चार्ड मनाउनेक्रम बढेमा तीव्र गतिमा सङ्क्रमण फैलने चेतावनी दिएका छन्।मन्कीपक्सको धेरै लक्षण बिफरको जस्तै हुन्छ। सन् १९८० मै अफ्रिकामा यसको असर धेरै देखिएपछि बिफरकै भ्याक्सिन दिन थालिएको हो। बिफरको भ्याक्सिनले यसको नियन्त्रणमा पनि धेरै हदसम्म सहयोग गर्ने गरेको छ। मन्कीपक्स सामान्यतया जङ्गली खरायो, लोखर्के र बिरालोमा हुनेगर्छ। यो जङ्गली जनावरमा हुने भाइरस पछिल्लो समय मात्र मानिसमा सरेको पाइएको छ।

सन् १९७० मा पहिलो पटक कङ्गोमा यो भाइरस देखिएको हो। १९६८ मा बिफर उन्मुलन भएको सो देशमा त्यसको दुई वर्षपछि ९ वर्षीय बालकमा यो रोग देखिएको हो। धेरै केस जङ्गलको छेउका गाउँ र आर्द्रता भएका क्षेत्र जनावरसँग मानिस नजिक हुने स्थानमा पाइएको थियो।

सन् १९७१ यता मन्कीपक्स ११ अफ्रिकी देशमा पाइएको छ। गाबोन, आइभरी कोस्ट, लाइबेरिया, नाइजेरिया, सियरा लियोन र दक्षिणी सुडानमा यो सङ्क्रमण पाइएको छ। सन् २०१७ मा भने नाइजेरियामा यस किसिमको भाइरल सङ्क्रमण देखिएको थियो। त्यस समयमा मृत्यु दर पनि ३ प्रतिशत थियो।

सन् २००३ मा पहिलो पटक यो सङ्क्रमण अफ्रिका बाहिर देखिएको थियो। घरमा पालिएका कुकुरमार्फत् त्यहाँ मानिसलाई यो रोग सरेको थियो। ती कुकुर घानाबाट ल्याइएका थिए। त्यसै समयमा ७० जनामा यो रोग देखिएको थियो।

सन् २०१८ मा नाइजेरियाबाट इजरायल जानेमा पनि यो रोग देखियो। २०१८ मा नाइजेरियाबाट नै बेलायतमा यो रोग पहिलो पटक पुगेको हो। यसपछि यो रोग विस्तारै संसारका अन्य देशमा पनि देखिन थालेको छ।

यो रोग जनावरबाट मानिसमा रगत, तरल पदार्थ तथा छाला या घाउबाट सर्ने गर्छ। कुनै पनि सङ्क्रमित जनावरको मासुको कारण पनि सङ्क्रमण सर्नसक्छ। जङ्गलको छेउमा बस्ने मानिसलाई यो सङ्क्रमणको जोखिमयुक्त व्यक्ति मानिएको छ।मानिसबाट मानिसमा सर्ने क्रममा श्वासप्रश्वासबाट, छालाको घाउबाट, भर्खरै काटिएको हतियारबाट सर्न सक्छ। मुखबाट सर्ने भएकाले स्वास्थ्यकर्मी, सङ्क्रमित व्यक्तिको घरको मानिस तथा एकदमै नजिकका मानिसमा यसको जोखिम बढी हुन्छ। यसको जोखिम मानिसको इम्युनिटीमा पनि भरपर्ने गरेको छ। यौन सम्पर्कमार्फत यो सर्छ या सर्दैन भन्ने अझै निश्चित भएको छैन।

प्राय ६ देखि १३ दिनमा यो रोगको धेरै लक्षण देखिन्छ। तर, ५ देखि २१ दिनलाई लक्षण देखिने समय मानिएको छ। गाँठा आउने, टाउको दुख्ने ,खटिरा आउने, गुप्ताङ्गमा घाउ आएर चिलाउने जस्ता लक्षण यो सङ्क्रमणमा देखिनसक्छ।

अफ्रिकी महादेशमा धेरै सताएको मन्कीपक्सको यो सङ्क्रमण अहिले युरोपमा प्रवेश गरेको छ। कोभिड १९ महामारी जस्तो भयावह त हुँदैन। तर, अन्य देशका लागि पनि चासोको विषय भने बनेको छ। श्रोतः बीबीसी, विश्व स्वास्थ्य सङ्गठन