७ बैशाख २०८१, शुक्रबार 1713539622
राजनीति

मेलम्चीको पानी चैत मसान्तभित्र ल्याउन निर्देशन

काठमाडौँ, माघ १६ गते । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत मेलम्ची खानेपानी आयोजना प्राकृतिक विपत् जोखिमयुक्त क्षेत्रमा रहेकाले आयोजनाको हेडवक्र्सलगायतका संरचनाको गुणस्तरीय निर्माण गर्नसमेत ठेकेदार कम्पनी र मेलम्ची खानेपानी विकास समितिका कर्मचारीलाई निर्देशन दिनुभयो ।

गत असार १ गते आएको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले सुरु गरिसकेको छ । खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य व्रजाचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र प्राविधिक टोलीसहित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरी मन्त्री चौधरीले सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीका नाममा सम्बोधन गर्दै यसै वर्षभित्र आयोजनालाई पुनः सञ्चालनमा ल्याई मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी कुनै पनि बहानामा निर्धारित समयभन्दा एक दिन पनि काम ढिलो नगर्न, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसहित विभिन्न चरण गरी चौबीस घण्टा नै काम जारी राख्न तथा काम सम्पन्न नहुञ्जेलसम्म आयोजना स्थल (साइट) नछोड्न प्राविधिकलाई मन्त्रीले निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक लीलाराज खनालले जानकारी दिनुभयो । उहाँले आयोजना पूर्ण रूपमा पुनः सञ्चालनमा नआएसम्म आफूले स्थलगत अवलोकन गरी हप्तैपिच्छे कार्यप्रगति लिने र मूल्याङ्न गर्ने स्पष्ट पार्नुभयो ।