४ बैशाख २०८१, मंगलवार 1713277315
Uncategorized

एमालेको विरोधकाबीच दुई अध्यादेश बहुमतले स्वीकृत, संसदको अर्को बैठक बुधबार

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच प्रतिनिधिसभाको बैठकमा दुई अध्यादेश स्वीकृत भएका छन् ।

एमालेले बैठक अवरूद्ध कायमै राखे पनि आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गरेकामा त्यसलाई बहुमतले स्वीकृत गरेको हो ।

यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई बहुमतले स्वीकृति भएको हो ।

एमालेले अवरूद्ध गरेको बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले विरोध जनाएका थिए । एमाले र नेमकिपाको विरोधकाबीच दुबै अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरे पनि एमाले सांसदले त्यसलाई वेवास्ता गर्दै नारावाजी गरेपछि संसद बैठक पुष ७ (बुधबार)गते सम्मका लागि स्थगित भएको छ ।

नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।