१४ बैशाख २०८१, शुक्रबार 1714160967
Uncategorized

एमालेका जनसंगठनको विधान संशोधन प्रस्ताव, अब १७ पदाधिकारी र बढीमा २ सय ९९ केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेका जनसंगठनमा अब पदाधिकारी १७ जना र केन्द्रीय सदस्य बढीमा २ सय ९९ जना हुने भएका छन् । हाल भइरहेको कमिटीहरु भद्धा भएकोले तिनको आकार घटाउँदै वडा तहसम्म संगठन भएका संगठनहरु २ सय ९९ सदस्यीय र पेशागत संगठनहरु १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।

जनसंगठन संयन्त्रको शनिबार बसेको बैठकले सवै जनसंगठनमा समान पदाधिकारी रहने ब्यवस्थासहित कार्यदलले प्रस्तुत गरेको जनसंगठन सञ्चालन निर्देशिकालाई पारित गरेर पार्टीमा पठाउने निर्णय गरेको संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार जनसंगठनहरुलाई दुई तहमा वर्गीकरण गर्दै २ सय ९९ र १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय पनि गरेको छ । वडा तहसम्म सांगठानिक संरचना भएका राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अनेमसंघ, खेलकुद महासंघ, जनजाति महासंघसहित ९ वटा जनसंगठनको केन्द्रीय कमिटी बढीमा २ सय ९९ सदस्यीय रहने व्यवस्था गरिएको हो । यस्तै प्रेस चौतारी नेपालसहित पेशागत संगठनको केन्द्रीय कमिटीको आकार बढीमा १ सय ५१ सदस्यीय रहने प्रस्ताव गरिएको छ ।

बैठकबाट पारित निर्णयअनुसार अव जनसंगठनले बरिष्ठ उपाध्यक्ष राख्न नपाउने भएका छन । निर्णयअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य गरिएको छ भने दुई उपाध्यक्षमा एकजना महिला अनिवार्य गरिएको छ । यस्तै बढीमा दुई उपमहासचिव र बाँकी सचिव रहने गरी विधान संशोधन गरी आगामी महाधिवेशनबाट कार्यान्वयन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

संयन्त्रको यो निर्णयलाई स्थायी कमिटीको बैठकबाट अनुमोदन गराएसँगै २२ वटै जनसंगठनले अनिवार्य रुपमा आफ्नो विधान संशोधन गरी लागू गर्नुपर्नेछ ।