८ बैशाख २०८१, शनिबार 1713595570
समाज

प्रधानन्यायाधीशको बर्हिगमको सम्बन्धमा दलहरूले निर्णय गर्नुपर्छ : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनको लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभयो ।

राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उहाँको भनाइ छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरूले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘नेपाल बार एसोसिएसनले उहाँको बर्हिगमनको लागि हामीले १७ बुँदा विभिन्न दलहरूलाई पनि दिइसकेका छौं,’ उहाँले भन्नुभयो, ‘उहाँहरूले यो विषयमा आफ्नो निर्णय गर्नुपर्दछ । न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्ने उहाँहरूको उद्देश्य हो भने त्यही अनुसार भन्नुप¥यो, होइन भने, न्यायपालिकालाई भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनको लागि उहाँहरुले पहल गर्नुपर्दछ ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफू नांगिएको कुरा स्वीकार गरिसकेको दाबी गर्नुभयो । प्रधानन्यायाधीश नांगिदैमा न्यायपालिका नसप्रने र न्याय प्रशासन चल्न नसक्ने उहाँले बताउनुभयो । न्यायपालिकालाई नांगिन नदिनका लागि प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।

केही दिनदेखि स्थगन भएको बार एसोसिएसनको आन्दोलन पुनः सुरु भएको छ । मंगलबार कानून व्यवसायीहरूले नाराबाजीसहित सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधको कार्यक्रम जारी रहेको नेपाल बार एसोसिएसनले जनाएको छ ।