१४ बैशाख २०८१, शुक्रबार 1714146099
Banner

​राप्रपा पदाधिकारी बैठक बस्दै, निर्वाचन आयोगलाई जवाफ पठाउने

निर्वाचन आयोगले विधानबाट  राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको  आज पदाधिकारी बैठक बस्दै छ।

राप्रपा महामन्त्री भुवन पाठकका अनुसार आइतबार दिउँसो पदाधिकारी बैठक बस्न लागेको छ। सोही बैठकबाट निर्वाचन आयोगलाई के लेखेर पठाउने भन्ने टुंगो लाग्ने पाठकले बताए।

राप्रपा नेताहरूले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाऊ भन्नु गैरसंवैधानिक भएको बताएका छन्।

‘हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डामा वर्षौं राजनीति गरेको र चुनावसमेत लडेर आएको पार्टीलाई अहिले हटा भन्नु गैरसंवैधानिक हो,’ महामन्त्री पाठकले भने।  

राप्रपाले गत पुस १० गते आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो।

माघ २ गते राप्रपालाई निर्देशनात्मक पत्र पठाउँदै निर्वाचन आयोगले विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनेको हो।