५ जेष्ठ २०८१, शनिबार 1716074055
समाचार

एकै महिनामा तीन पटक नेपाल टेलिकमको टावरमा तोडफोड

मुगु- स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुको सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेको छ । यो सहित एकै महिनामा टावरमा तोडफोड भएको तेस्रो पटक हो ।

सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो । तोडफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका-३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाको तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् ।तोडफोडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेको छ । २४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएको प्राविधिक टोलीले २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन (२६ वैशाख) मै पुनस् तोडफोड भएको नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताए ।

डाँगीका अनुसार टावर सुरक्षा घेराबार र अन्य सुरक्षा ब्यवस्था नभएकाले स्थानीयवासी र बाँदरले पनि क्षति गर्ने गरेको छ ।

प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले ताकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४ सैं घण्टा टावरमा समय नदिने गरेको पाइन्छ । भिँईमा टेलिकमले टावर राखेको १० वर्ष जति भैसकेको छ ।