१३ बैशाख २०८१, बिहीबार 1714107847
Uncategorized

सत्ता गठबन्धनको बैठक आज

काठमाडौं -सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ।
समितिका संयोजक रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बैठक बिहान ९ बजे बस्नेछ।

बैठकमा स्थानीय तहको निर्वाचन र कोरोना नियन्त्रणलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

सत्तारूढ कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटवार्तापछि आजका लागि राजनीतिक समन्वय समितिको बैठक तय भएको हो। स्रोतका अनुसार आजको बैठकमा काँग्रेसका तर्फबाट स्थानीय तहको मिति प्रस्ताव गर्ने तयारी छ ।
सरकार सञ्चालनमा सहयोगका लागि कांग्रेसका वरिष्ठ नेता पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाटै कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन्। साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन्।

केही दिनअघि निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो।