२०७९ असार ११ शनिबार 1656207038
फिचर

जुत्ता सिलाउने छविलालको व्यथा : राजनीति फेरियो, जीवन फेरिएन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, समावेशी टोलका ७० वर्षीय छविलाल बोहोरा ४४ वर्षदखि वीरेन्द्रनगर चोकमा जुत्ताचप्पल सिलाउँदै आउनुभएको छ । सडकमा जुत्ता सिलाउँदा सिलाउँदै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन भइसके । यद्यपि जुत्ता टाल्ने छविलालको थलो फेरिएको छैन । 

चवालीस वर्षमा छविलालले धेरै पटक भोट खसालिसक्नुभयो । यद्यपि यस पटक भोट हाल्ने कि नहाल्ने ? उहाँ दोधारमा हुनुहुन्छ । छविलालले भन्नुभयो, “अहिलेसम्म मैले कति पटक भोट हालेँ गिन्ती छैन । नेताहरूले हाम्रो भोटको कदर गरेनन् । हाम्रा दुःख उस्तै छन्, फेरिएका छैनन् ।”

स्थानीय तहको निर्वाचनले गाउँ सहरमा प्रचारको लहर छ । त्यसले पनि छविलाललाई छोएको छैन । जुत्ता सिलाएकै ठाउँमा उम्मेदवार आएर मत माग्छन्, छविलाल हस् भन्ने सङ्केतको टाउको हल्लाउँछन् । छविलालले भन्नुभयो, “काम नगरी खान पाइन्न । तिनका कुरा सुनेर बस्ने फुर्सद छैन ।”

राजनीतिक दलका उम्मेदवार मतदाता फकाउन व्यस्त छन् । उनीहरूले भोटका लागि घरदैलो अभियानलाई तीव्र पारेका छन् । नेता कार्यकर्तालाई निर्वाचन कसरी जित्ने भन्ने चिन्ता छ । छविलालजस्ता लाखौँ जनतालाई दुई छाक कसरी टार्ने भन्ने चिन्ता छ । कैयौँ पटक भोट दिए पनि आफूहरूका दुःख नफेरिएको बरु झन् दुरुह बनेको मतदाताको अनुभव छ । वीरेन्द्रनगर–५ की जयन्ती भुसालले जनताको दुःखभन्दा चुनावका बेला नेतालाई भोटकै चिन्ता भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेतालाई भोटको चिन्ता छ । हामीलाई ज्याला मजदुरी गरेर बिहान साँझको छाक कसरी टार्ने भन्ने चिन्ता छ ।”जयन्तीको दुःखेसो छ, “न आफ्नो भरपर्दो बास छ, न खानलाई कुनै भरपर्दो आयस्रोत नै छ । अहिलेसम्म सुकुम्बासी भएर सरकारबाट पाउने सेवासुविधा पनि पाउन सकेको छैनौँ ।”

वीरेन्द्रनगरका सडकपेटीमा चट्पटे बेच्ने सल्यानकी मेनुका रावतलाई चुनावी माहोलले कुनै प्रभाव पारेको छैन । भोट माग्दा ठूला–ठूला सपना देखाउने तर पछि कार्यान्वयन नगर्ने नेतालाई यस पटक भोट नदिने मनसाय उहाँको छ । उहाँले भन्नुभयो, “हामीलाई आफ्नै ठाउँमा रोजगारी चाहिएको छ । आफ्नै ठाउँमा काम भए यहाँ आउनुपर्थेन ।”

भोट माग्दा घरदैलोमा आउने नेताहरू जितेपछि बेखबर हुने अनुभव उहाँको छ । उहाँले चट्पटे बेचेर घरखर्च चलाउन मुस्किल रहेको बताउनुभयो । मेनुकाले भन्नुभयो, “छोराछोरीलाई राम्रो स्कुलमा आफ्नै ठाउँमा पढाउन पाइएको छैन । उपचारका लागि गतिलो अस्पताल छैन ।” 

वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीका रुकु विकले डोकामा फलफूल व्यापार गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । वीरेन्द्रनगरका सडक छेउमा डोकोमा फलफूल बिक्री गर्न त्यति सहज छैन । नगरपालिकाका नगर प्रहरीसँग छलिएर व्यापार गर्न कठिन छ । उहाँले भन्नुभयो, “हाम्रा दुःख कसैले बुझ्दैनन् । जनताका आधारभूत आवश्यकतासमेत पूर्ति गर्न नसक्ने नेतालाई भोट दिन उत्साह छैन ।”