२३ बैशाख २०८१, आईतवार 1714964936
समाचार

मुग्लिनमा टिपर, बस र कार ठोक्किए, २८ जना घाइते

मुग्लिन नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा टिपर, बस र कार आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ७ ख २३०० नम्बरको टिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र बीएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परी बस र कारमा सवार २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनु भयो । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको अधिकारीले बताउनु भयो । घाइते सबैको अवस्था सामान्य रहेको उहाँले बताउनु भयो ।