११ बैशाख २०८१, मंगलवार 1713918382
खेलकुद

‘सी’ डिभिजनको दोस्रो चरणमा १६ गोल, सानेपा शीर्ष स्थानमा

​​​​​​​काठमाडौँ । सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो चरण सकिएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सातदोबाटोस्थित एन्फा मैदानमा चलिरहेको प्रतियोगिताका दोस्रो चरणका खेल बुधबार सकिएका हुन् ।   

हरेक दिन तीन खेल खेलाइएकाे दोस्रो चरणमा सात खेल आयोजना भए । महावीर क्लब र प्लानिङ ब्वाइज क्लब भिड्दै सुरु भएको दोस्रो चरण अन्तिम खेलमा ओसिस क्लब र झापा फुटबल क्लब भिड्दै समाप्त भयो । 

दोस्रो चरणमा कूल १६ गोल भए । औषतमा दुइ दशमलव २८ गोल भए । यसअघि पहिलो चरणमा २५ गोल भएका थिए । 

यस चरणमा तीन खेल बराबरीमा सकिँदा चार खेलमा हार जितका नतिजा आए । पहिलो खेलमा महावीर र प्लानिङले १–१ गोल र दोस्रो खेलमा खालिबारी युथ एफसी र स्पोर्टस् एकेडेमी साँगाले २–२ गोलको बराबरी खेले । 

तेस्रो खेलमा सानेपा क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई २–० अन्तरले हरायो । चौँथो खेलमा खालिबारी युथ एफसी र स्पोर्टस् एकेडेमी साँगाले २–२ गोलको बराबरी खेले । 

यस्तै, पाँचौ खेलमा मनोहर युनाइटेड क्लब र स्वयम्भू क्लबले १–१ गोलको बराबरी खेले । यता, ७५ मिनेटसँम्म १–० ले पछि परेको आरसी ३२ फुटबल एकेडेमीले पुनरागमनसहित वीरगंज युथ एकेडेमीलाई ३–१ अन्तरले हरायो । 

समाज कल्याण खेलकुद केन्द्रले रानीवन स्पोर्टस् एकेडेमी र  झापा फुटबल क्लबले ओसिस क्लबलाई क्रमशः १–० ले पराजित गर्याे । 

जारी लिगमा समान ६ अंक भए पनि सानेपा, झापा र आरसी ३२ क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छन् । समान चार अंकका साथ मनोहरा, महावीर र प्लानिङ क्रमशः चौँथो देखि छैटौँ स्थानसम्म छन् । 

यता, तीन अंकका रानीवन र समाज कल्याण क्रमशः सातौँ र आठौँ स्थानमा छन् भने एक अंकका स्वयम्भू, साँगा र खालिवारी क्रमशः नवौँदेखि ११औँ स्थानमा छन् । खाता खोल्न नसकेका पुल्चोक, ओसिस र वीरगंज क्रमशः १२औँ देखि पुछारसम्म छन् । 

एन्फाले ‘ए’ र ‘बी’ डिभिजन लिग पछि ‘सी’ डिभिजन लिग आयोजना गरेको हो । लिगका शीर्ष दुई क्लब ‘बी’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन छनोटमा घटुवा हुनेछन् ।