८ बैशाख २०८१, शनिबार 1713624178
राजनीति

विप्लव नेतृत्वको नेकपाका नेता खतिवडा र डाँगी अदालतको आदेशमा रिहा

विराटनगर – संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएका नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् ।

२०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडा जिल्ला अदालत मोरङको आदेशमा सोमबार धरौटीमा रिहा भएका हुन् ।

अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको हो ।

खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् । डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन् । उनीहरुलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो ।