२०७९ मंसिर २० मंगलवार 1670381692
पालिका

भोजपुरमा भागबण्डा नमिल्दा गठबन्धनभित्र किचलो, एमालेलाई सहज

भोजपुर – सत्ता साझेदार गठबन्धनको असर तल्लो तहमा देखिएको छ । आसन्न स्थानीय तहको चुनावका लागि भागबण्डा नमिल्दा गठबन्धनभित्रै किचलो बढेको हो ।

गठबन्धनबाट टिकट नपाएपछि षडानन्द नगरपालिकाका वडास्तरमा खटपटी सुरु भएको हो । गठबन्धनको निर्णय विपरित वडा नं ९ र १३ मा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रका नगर कमिटीका सदस्य रहेका शेखर तामाङले वडा नं। ९ बाट र ओमकुमार श्रेष्ठले वडा नं १३ बाट सूर्य चिन्हमा चुनाव लड्नुहुने भएको छ । वडा नं १४ मा भने नेपाली कांग्रेसका दिनेश राईले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै पार्टीले टिकट नदिएपछि कांग्रेसका जितबहादुर दाहाल पनि एकीकृत समाजवादीमा प्रवेश गरी वडा नं १२ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्य वडाहरुमा पनि गठबन्धनका कार्यकता असन्तुष्ट रहेको नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार विरबल राईले बताउनुभयो । तल्लोस्तरमा देखिएको नेता तथा कार्यकर्ताको खटपटीले यहाँ गठबन्धन दरिलो नबन्ने देखिएको छ ।

गठबन्धनभित्रै बढेको किचलोले प्रतिपक्षी दल नेकपा एमालेका उमेदवारलाई लाभ पुग्ने देखिएको छ । गठबन्धनले टिकट वितरणमा वेवास्ता गरेको भन्दै कसैले पार्टी नै छाडेका छन् भने केहिले स्वतन्त्र रुपमा उम्मेदवारी समेत दर्ता गराएका छन् ।

षडानन्द नगरपालिकामा गठबन्धनले चुनावी तालमेल गरेको छ । यहाँ काङग्रेसबाट विरवल राई मेयरका उम्मेदवार बनेका छन् भने उपमेयरमा माओवादी केन्द्रबाट प्रमिला राईको उम्मदेवारी परेको छ । मुख्यपदमा तालमेल भए पनि तल्लो तहमा भने पूर्णरुपमा तालमेल गर्न समस्या देखिएको गठबन्धनका नेताहरुले बताएका छन् ।

आसन्न स्थानीय तहको चुनावका लागि भोजपुरमा सत्ता गठबन्धनका केहि दलहरुले भागबण्डामा असन्तुष्ट जनाउँदै गठबन्धनबाट बाहिरिएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टी यसअघि नै बाहिरिसकेको छ भने माओवादी केन्द्रले भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका बाहेक अन्य स्थानीय तहमा आफ्नै उम्मेदवार बनाएको छ ।

एउटा पनि स्थानिय तहको नेतृत्व नपाएपछि जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको जसपाका नेता प्रशन्न राईले बताए । यस्तै गठबन्धनको निर्णयको विरोधमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मोहन किराती मादेन राजिनामा घोषणा गरेका छन । अन्य नेता कार्यकर्ताहरुले पनि विरोध गरेका छन् ।

एमालेसँग तालमेल गर्ने माओवादीका उम्मेदवार पार्टीबाट निष्कासित
आसन्न स्थानीय तहको चुनावका लागि प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने नेकपा माओवादी केन्द्रका तीनजना उम्मेदवारलाई पार्टीबाट निष्कासित गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेको चुनाव चिन्हबाट उम्मेदवारी मनोनयन दर्ता गरेका षडानन्द नगरपालिका लगायत विभिन्न स्थानीय तहका तीन नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको हो ।

पार्टीबाट निष्कासित हुनेमा भोजपुर नगरपालिका ११, आम्तेकका मोहनसेन राई, षडानन्द नगरपालिका ९, किमालुङका शेखर तामाङ र षडानन्द नगरपालिका १३ बोयाका ओम कुमार श्रेष्ठ हुनुहुन्छ । प्रतिगमन विरोधी गठबन्धन दल तथा पार्टीको नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै प्रतिपक्षी दलको चुनाव चिह्न लिइ मनोनयन दर्ता गरेकोले पार्टीबाट निष्कासित गरेको नेकपा माओवादी केन्द्र भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताउनुभयो ।

माओवादी केन्द्रले जिल्लाका अन्य स्थानीय तहमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएकाहरुलाई पनि तत्काल उम्मेदवारी फिर्ता लिई पार्टीको नियमित काममा फर्किन निर्देशन दिएको छ ।