७ बैशाख २०८१, शुक्रबार 1713531981
पालिका

काभ्रेपलाञ्चोकमा दुई हजार ७७३ जनाद्वारा उम्मेदवारी

काभ्रे – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएको छ । सोमबार सम्पन्न भएको मनोनयन दर्ताको विवरण स्थानीय तहमा स्थापना भएको निर्वाचन अधिकृतहरूको कार्यालयबाट सार्वजनिक गरेको हो ।

जिल्लामा प्रमुख राजनीतिक दलहरु नेकपा (एमाले) र सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत राना राजनीतिक दलहरूले पनि आफ्नो पार्टीको उम्मेदवार मनोनयन दर्ता गराएको छ । एमाले एक्लैले स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् भने गठबन्धनबाट स्थानीय तहमा भागबण्डा गरी मनोनयन दर्ता गरेका छन् भने वडामा अनुकूलताका आधारमा गठबन्धन गरेको दलहरूले जनाएको छ ।

जसअनुसार बनेपा नगरपालिका प्रमुखमा १० जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा आठ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुख पदमा सबैभन्दा बढी सङ्ख्या ११–११ जनाले मनोनयन दर्ता गराएका छन् । बनेपाको उपप्रमुखमा भने जम्मा तीन र मण्डनदेउपुर नगरपालिकाको उपप्रमुखमा चार जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । त्यस्तै धुलिखेल नगरपालिका प्रमुखमा १० र उपप्रमुखमा छ, पाँचखाल नगरपालिका प्रमुखमा छ, उपप्रमुखमा पाँच र नमोबुद्ध नगरपालिका प्रमुखमा चार, उपप्रमुखमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

गाउँपालिकातर्फ जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिका अधयक्ष पदमा आठ जना र डाँडापारिस्थित खानीखोला गाउँपालिका अध्यक्षमा सात जनाको मनोनयन दर्ता भएको छ भने उपाध्यक्षमा चार–चार जनाको मनोनयन दर्ता भएको छ । त्यस्तै रोशी, चौँरीदेउराली, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्षमा पाँच–पाँच जनाको मनोनयन दर्ता भएको छ भने उपाध्यक्षतर्फ रोशी र तेमालमा चार–चार, बेथानचोकमा आठ र चौँरीदेउरालीमा दुई जनाको मनोनयन दर्ता भएको छ । महाभारत गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ६७०, सदस्यमा एक हजार ३७, महिला सदस्य ४८७ र दलित महिला सदस्यमा ४३० गरी जम्मा दुई हजार ७७३ पदमा मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।