१३ बैशाख २०८१, बिहीबार 1714068571
Banner

स्थानीय निर्वाचनमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ। 

निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ।

यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको छ। वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ।

वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।