६ बैशाख २०८१, बिहीबार 1713460029
Banner

पूर्वराष्ट्रपतिज्यू,आफूलाई किन भुइँमा पछार्नु हुन्छ ?

पूर्व महामहिम राष्ट्रपति डा. रामवरण यादवज्यूको एक चल्तीको छापा पत्रिकामा राजनीति भनेकै मनि, मसल र माफियाको बिम्ब बन्न थालेको छ शीर्षकको एक अन्तर्वार्ता प्रकाशित भएको छ । यसमा उहाँले देशको समसामयिक राजनीतिक गतिविधिबारे प्रकाश पार्दै समग्रमा सबै नेता खराव भन्ने आशयको अभिव्यक्ति पढ्दा पटक्क चित्त बुझेन । नेपाली काङ्ग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाका शासन कालमा मनि, मसल र माफिया व्यापक प्रयोग भएको तपाईँ आफैँलाई थाहा छ । कम्युनिस्ट र अझ एमाले विरुद्ध के कति सम्मका दमन र दुष्प्रचार गरियो त्यो कुरा त तपाईँलाई नै धेरै थाहा छ । एमालेको सरकार आयो भने साठी उमेर कटेका बूढाबुढी मार्छ धर्म कर्म मान्दैन आदि नानाभाँती भनेको जनताले बिर्सेका छैनन् । अझै पनि तपाईँका रागमा एमाले विरोधी पहिले जस्तै दोख्दा अलि अचम्म नै लागेको छ । पार्टीकै नेता भएको भए केही भन्नु थिएन तर पदीय हैसियतले तपाईँले बोलेको कुरा सही लागेन । अल्पमतको नौमहिने देश र जनताका लागि उदाहरणीय सरकार एमाले बाहेक अरु कसैले बनायो ? नाकाबन्दी भन्न नसक्ने र नाका बन्दी बन्द गर्नेका बीच अझै फरक देख्नु हुन्न मान्यवर ! आफू र आफ्नो पार्टी तथा नेता खराव भएपछि अरु सबैलाई खराव देख्ने महारोगबाट मान्यवरहरु नै ग्रसित भए पछि आमजनताले के सिक्ने ? नेपालमा चाहिँ सबै नेता खराव छन् भन्ने प्रायाजित दुष्प्रचार गरिएको छ । यसको सिकार पहिले पहिलेका देश र जनताका लागि राम्रा काम गर्ने नेता परेका छन् । अलिपनि यस्तै खालका आम जनतामा चरम निराशा फैलाउने खालका धारणा र विचारलाई पूरै खण्डित गर्छ । यस्ता गलत विचारका कारण नेपाल एकीकरण गर्ने दूरदर्शी दृष्टिकोण सहितका महान् अभियन्ता पृथवी नारायण शाहलाई नै पूरै निषेध गर्ने कुनियत एक समय हाबी र प्रभावी हुन गयो । नेका भित्र पनि सबै कानचिरा छैनन् । कमीकमजोरी भए पनि कम्तीमा नेता शेखर कोइरालाले विगत पार्टी महाधिवेशनमा पार्टीमा व्याप्त अध्यक्षको एकल मनोमानी प्रवृत्ति सच्चिने र सच्याउने खालको आन्तरिक संघर्षलाई संगठित गर्नु भयो । यही हिसावले पार्टीलाई वैचारिक र साङ्गठनिक सुधारको अभियान र अडान राख्नु भयो । नेका भित्र धनराज गुरुङ, डा.चन्द्र भण्डारी र एन.पी. साउद आदि लोकतान्त्रिक, देशभक्त तथा इमान्दार चरित्रका नेताहरु छन् । पार्टी भित्र भएको धन नदेख्ने र त्यसको जगेर्ना पनि नगर्ने र उल्टो तिनलाई पनि पूर्व महामहिम राष्ट्रपति जस्ता व्यक्तित्वले भुत्ल्याउन थाल्ने हो भने कसरी पार्टी र त्यसका नेताप्रति जनताको सकारात्मक धारणा कसरी बन्छ ? एक पैसा त हो भनेर बेवास्ता गर्ने हो भने एक सय,एक लाख र एक करोड कसरी हुन्छ ?

उक्त पत्रिकामा महामहिम पूर्व राष्ट्रपतिको एमाले र अझ ओली सरकार विरुद्धमा अन्तर्वार्ता केन्द्रित देखिन्छ । चुनावमा सम्मुख उहाँ पार्टीकै प्रचारमा लाग्नु भएको हो ? डा.यादवज्यूले ओलीले दुई चोटि संसद् विघटनको अवैधानिक प्रयास भएको देख्नुभयो तर जनादेशलाई पूरै लत्याएर परमादेशबाट प्रधानमन्त्री बनाउँदै संसदीय व्यवस्थाको धज्जी उडाएको देख्नु भएन । अझ उहाँले महामहिम राष्ट्रपतिको एक मात्र स्वविवेकीय विशेषाधिकारलाई सर्वोच्च अदालतले अपमान पूर्वक बलात् हस्तक्षेप गरेको देख्नु भएन मात्र होइन डा. यादवज्यूले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको मतियार भएको गैरसंवैधानिक फतुर पनि लगाउनु भएको थियो ।

पूर्व राष्ट्रपति यादवले पुनः स्थापित संसद् बन्धक बनाएको देख्नु भयो तर एमालेले कार्यवाही गरेका १४ सांसद्लाई मात्र सभामुख स्वयंसहित भएर कार्यबाही नगरेर संसदीय मूल्य मान्यताको खुलेआम चिरहरण गरेको देख्नु भएन । उहाँले लोकतान्त्रिक चरित्र अनुसार पार्टी अघि बढ्न सकेनन्, त भन्नु भयो तर जनादेश र मतादेश विपरीतका गैर संवैधानिक गैर संसदीय निर्लज्ज चरित्र र चिन्तन पटक्क देख्नु भएन ।

डा. यादवले २०७४ को निर्वाचन सरकारले गरेका काम पनि विवाद मुक्त हुन सकेनन् भन्नु भयो तर नेपाल र नेपालीको हक हित र उत्थान देखि नसहेर ओलीलाई दुई पटक प्रधानमन्त्रीबाट विदेशीको बुईमा बोकिएर हटाएको पनि देख्नु भएन । लोकतन्त्रका आधारभूत पक्ष जस्तो मिडिया सञ्कुचन पार्ने, व्यवस्थापिका न्यायपालिका को भूमिका नजर अन्दाज गर्ने संवैधानिक निकायको भूमिका नियन्त्रण गर्ने जस्तो काम ओली सरकारले गरेको बेलिबिस्तार लगाउनु् भएको छ तर ओलीको बहिर्गमनपछि न्यायपालिका र व्यवस्थापिकाको इज्जत र आवरु गठबन्धन सरकारले धज्जी उडाएको देख्न र भन्न चाहनु भएन । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको महाभियोग प्रकरण र काम स¥यो भाँडे आफत तेरो भाँडोझैँ गरेर आफूले भने अनुसार हुबहु नमान्ने देखे पछि पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई पारितै नहुने महाअभियोग लगाएर घोर अपमान गरेको डा. यादवले देख्नु भएन । देख्दै नदेखे पछि बोल्न पनि मिलेन ।

नेपालको परराष्ट्र र गृह जस्ता क्षेत्रमा विशेषतः छिमेकी भारतको सूक्ष्म अवलोकन र हस्तक्षेप हुने गरेको कुरा तराइ मधेसका प्रजिअको नियुक्ति र सरुवामा समेत प्रभावित पार्ने गरेको विगत इतिहास साक्षी छ । अनि यस्ता विषयमा ओली सरकारले आफ्नो बलियो पकड राख्दा यादवज्यूलाई के को आपत्ति र किन ? डा. यादव २ नंम्बर प्रदेशको नाम स्वर्ण अक्षरले अङिकत गर्न लायक अत्यन्त गौरव गरिमा तथा महिमा मण्डित सांस्कृतिक विरासद् र वैभवयुक्त जनकपुर जस्तो विशिष्ट पहिचान राखिएन । यसका विरुद्ध मधेस राखेकामा डा. यादव सुरुदेखि सुझाव नदिएर मौन बस्नु भयो । मधेस प्रदेश राखेकामा भारतीय प्रधानमन्त्री मोदीले त्यहाँको प्रदेश सरकारका मुख्य मन्त्रीलाई बधाइ दिएपछि उनका सखाहरुले बोल्ने कुरा पनि भएन । जनकराजाका दरवारमा विद्वत् सभा हुन्थ्यो । शास्त्रार्थ ह्ुनते गथ्र्यो याज्ञबल्क्य ऋषिसित गार्गी विदुषीहरु शस्त्रार्थ गर्थे । अष्टाबक्र ऋषि जस्ता ऋषिहरुको विशिष्ट महत्व र योगदान रहेको छ । यस्तो देशको र प्रदेशको शीर्ष सांस्कृतिक धार्मिक महत्वलाई धुलिसात् पार्दा डा. यादवलाई कतै पनि च्वास्स मुटुमा छोएको पाइएन । अनि प्रदेशलाई यो वा त्यो अधिकार दिएन भन्नुको हतार किन महाशय ।

ओली सरकारले आफू मातहत ल्याएका राजस्व अनुसन्धान,राष्ट्रिय अनुसन्धान,सम्पत्ति शुद्धीकरण लगायतका विभाग राखेकामा डा. रामवरणज्यूलाई किन के को आपत्ति ? यस्ता विषयलाई आधार बनाएर निराधार रुपमा यसले लोकतन्त्रको आवरणमा कार्यकारी निरङ्कुश हुने प्रवृत्ति भन्न यादवज्यूलाई सुहाउँछ ?

यो लेखक पूर्व राष्ट्रपतिज्यूका तमाम विगत कोट्याउन चाहँदैन तर यसरी सबै दोष अमुक नेता र अझ वर्तमान राष्ट्रपति प्रति आरोपित गर्न थाल्नु भयो भने सबै फेहरिस्त जनसमक्ष यो लेखक उजागर गरिदिन्छ । राष्ट्रपति निवासमा दही च्युरा खुवाउनु हुने वहाँले संविधान विरुद्ध उतिवादी पाराले तराई मधेसमा रहर र लहडले आगो बोल्दा बोलाएर किन सम्झाउनु भएन । संविधान जारी गर्ने बेलामा तपाईँको विचार व्यवहार अझै झलझली याद आउँछ । सबै भन्दा भ्रष्टाचार दुई नम्बर प्रदेशमा व्याप्त छ । जनतालाई राहत दिने र साइकल बाँड्ने आदि नाममा भ्रष्टाचारले हिमाल नाघेको तपाईँ देख्नु हुन्न । पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराज जस्ता कुनै पनि खाले आगूह रहित व्यक्तित्वहरुको खाँचो यस मुलु्कलाई छ । कुनै पनि मानिस नामले,पदले पदवीले,अस्था आदिका आधारमा भन्दा कामका आधारमा महान् हुन्छ । राष्ट्रपति,प्रधानमन्त्री मन्त्री र माननीय बन्दैमा कोही पनि महान् हुँदैन तर असल मानिस बन्न सजिलो छैन ।

यो लेखक माक्र्सवादी तथा जबजको बहुआयामिक स्वस्थ्य प्रतिस्पर्धी विचारको पक्षधर भएका नाताले यही सीमाभित्र रहेर मात्र मत प्रकट गर्दछ । केही प्रजातान्त्रिक, प्रगतिशील, वरिष्ठ प्राध्यापक तथा लेखक भनिनेहरुले जस्तो महामहिम राष्ट्रपति विद्या भण्डारीलाई अनेक खालका दुराग्रह राखेर मुखबमोजिम बोल्न र लेख्न यस लेखकलाई सुहाउँदैन । त्यसैले तपाईकाप्रति आदर भावका साथ विचार व्यक्त गर्छु तर कमजोरीलाई भने शालीनतापूर्वक उठाउन चाहन्छु । तपाईले सार्वजनिक रुपमा बोलेपछि र लेखेपछि त्यसले समाजलाई भ्रमित पार्छ । राष्ट्रपति भएदेखिका तपाईका विषयमा ध्यानपूर्वक अध्ययन गरिरहेको नाताले पनि सबै गतिविधि यस लेखकलाई राम्रै थाहा छ । पहिले पनि आफ्नो अग्लो उचाइ र औकात नघटाए हुन्थ्यो भनेर लेखेकै हो । आफ्ना देशका अग्ला पहिचानलाई सम्मान गर्दा आफू अपमानित भइन्न । तर हाम्रो देशमा सबै राजकीय र राजनैतिक उच्च नेतृत्व सम्हालेका सबै नेतालाई एउटै डालोमा हालेर खसीबाख्री एउटै धोक्री गर्ने गलत बानी बसेको र बसाइएको छ । आज वैशाख ९ गते आफूलाई मानव अधिकारवादी भन्ने डा. देवेन्द्र पाण्डे उत्तराद्र्ध उमेरमा पनि सही सत्य बोलेनन् । नेपाल त्यसै पछि परेको होइन । यहाँका उपल्ला तहका शैक्षिक बौद्धिक प्राध्यापकीय तथा मानव अधिकारवादी व्यक्तिहरु कुनै पनि र कसैले पनि गरेका कामलाई आग्रह र दुराग्रहको चश्माले हेर्छन् । ०६३ सालपछि बनेका सरकारले केही नै गरेनन् केही पनि भएन भन्छन् र आम जनतामा निराशा फैलाउँछन् । ओली सरकारले पहिले कसैले नसोचेका र नगरेका कामहरु गरेर नै देखाउनु भयो । ओली सरकारसित अहिलेको गठबन्धन सरकारका कामहरु सित दाँजेर हेर्ने हो भने आकाश जमिनको अन्तर स्पष्ट देख्न सकिन्छ ।
मान्यवर, दार्चुला निवासी जयसिंह धामीलाई महाकालीमा बगाएर मारेको घटनामा गठबन्धन सरकार चुप्प रहेको विषयलाई सामान्य ठान्नु भएको छ ? यो त मान्छे म¥यो भन्दा पनि काल पल्केको स्थिति हो ।

दिनदहाडै आफ्नो नागरिक मारिँदा नबोल्ने देउपा,दाहाल र नेपालसित गठबन्धन गर्नु जनहितका लागि हो र महोदय ?

ओलीको सरकार भएको भए त्यस्ता गतिविधि गर्ने हिम्मत नै गरिने थिएन र गरिएको भए माफ माग्नु पर्ने र क्षतिपूर्ति भर्नु पर्ने अवस्था आउँथ्यो । यति कुरा सामान्य जनताले बुझ्छन् । ओली सरकारलाई हटाए पछि गठबन्धन सरकार र प्रदेश सरकारहरु विधि विपरीत चलिरहेका छन् । ७ वटा मात्र मन्त्रालय हुनु पर्ने मा १४,१५ जना सम्म मन्त्री मण्डल बनाइरहेका छन् । एक मन्त्री बराबार सामान्य मासिक खर्च ५ लाख कम्तीमा हुन्छ भनिन्छ । यस खालको चरम लोभीपापी काम ओली सरकारले त गरेकै थिएन । एमालेमा उर्लिएको जनसमुद्र देखेर डा. यादव अत्यन्त बेखुस हुनुहुन्छ जस्तो छ । तपाईंले ओली विरुद्ध प्रत्यक्ष वा परोक्ष कपोलकल्पित टिप्पणी गरे पनि जनताले पत्याउने वाला छैनन् । किनभने ओली सरकारले कामले नै जनताको मन जितिसकेको छ ।

ओली सरकारलाई हटाउने बित्तिकै महाकालीमा भारतले रातारात एक तर्फी पक्की तटबन्ध बनाएर बर्खे भेलबाढी नेपालतिर फर्काउने कृत्य गर्दा पनि यो सरकार मौन रहेको अर्को विषय अझ संवेदनशील रहेको छ । यो मौन सम्मतिको लक्षण होइन यो कुरा यहाँलाई थाहा छैन ? प्रधानमन्त्री शेरबहादुर देउपा भारत भ्रमणका बेला चुच्चे नक्सा बुच्चे पारेको महामहिमले देख्नु भएन ? के यो चानचुने विषय हो र ?

यस्तै यस्तै देशघाती र जनघाती काम गर्नका लागि ओली सरकारलाई दाहाल र नेपाल विरुद्ध सुरुदेखि विरोध गरेर अन्तिममा हटाउन हत्ते हालेका हुन् । के उपर्युक्त विषयहरु सामान्य हुन् ? रोग यसरी नै सुरु हुन्छ स्वाधीनताको अपहरण यसरी नै सुरु हुन्छ । यस्ता विषयलाई सामान्य ठानेको हो ?

पूर्व राष्ट्रपति ज्यू कृष्ण पहाडीजीले तपाईँको नाम लिएर नागरिक पत्रिकाको २०७३ जेठ १७ गते प्रकाशित लेखमा संविधान जारी गर्ने बेलाको रहस्य खोलेका थिए । ती सबै कुरा अहिले यो लेखक उल्लेख गर्न चाहँदैन । तर तपाईँ भने भर्खर संघीयतामा प्रवेश गरेको यस मुलुकमा प्रदेशहरुलाई सबै अधिकार प्रदान गर्नु पर्छ भन्ने तपाईँको हतारो अचम्म लाग्दो छ । दुई नम्बर प्रदेशका मुख्य मन्त्रीले भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा आउँदा हमारे प्रधानमन्त्री मोदी भनेका थिए । ओलीले प्रदेश देशको वा संघको युनिट वा एकाइ भनेकामा तपाईले पनि आकासै खस्यो भनेझैँ अन्तर्वार्तामा भन्नु भएछ । देशभित्र प्रदेश हुन्छ प्रदेश भित्र देश हुँदैन । कि तपाईले प्र्रदेशलाई अलग देश भन्न खोज्नु भएको हो मान्यवर । त्यस आशयले तपाईले भन्न खोज्नु् भएको भए यो मुर्दावाद भन्न मिल्ने विषय हो । तपार्इँले मसिनो रुपमा परापूर्वकालदेखि अक्षुण्ण, अविभाज्य तथा एकल राष्ट्र रहेको नेपाललाई बहुराष्ट्रिय राज्य भन्न खोजेको भने यसलाई देशभक्त नेपालीले कदापि स्वीकार्दैनन् । नेपाल पहिलेदेखि नै बहुजातीय राष्ट्र हो तर यो देश बहुराष्ट्रिय राज्य होइन । मान्यवर तपाईले कुनै पार्टीको प्रचारक जस्तो भएर बोल्दा आफ्नै उचाइ घट्छ । कृपया हामीलाई पनि अप्ठ्यारो पार्ने गरी नबोलिदिनु होला ।