२०७९ आश्विन १६ आईतवार 1664757456
Banner

कांग्रेसले बर्दिबास नगरपालिकाको मेयरमा दुईजनालाई टिकट, आधिकारिक को हो भन्ने विवाद

महोत्तरी । नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाको मेयरका लागि दुईजनालाई टिकट दिएको छ । प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् ।

आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनय दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि प्रल्हाद क्षेत्री पक्ष नेता कार्यकर्ता अचम्ममा परे । सोमबार बिहानमात्र क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको लागि टिकट लिएर आएका थिए । सामाजिक सञ्जालमा बिहानैदेखि प्रल्हाद क्षेत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला हमालले टिकट पाएपछि माहोलमा नै परिवर्तन भएको छ ।

कसले टिकट पायो मलाई थाहा छैन, तर म मनोनयन दर्ता गर्न जाँदै छु, नेता हमालले भने ।

प्रल्हाद क्षेत्रीको टिकट अन्तिम समयमा दुई जनाको टिकट आएको भन्दै नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन्।

कसको टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ हुने क्रम जारी भएको कांग्रेस महोत्तरीले जनाएको छ ।अहिले दुवै उम्मेदवार मनोनयन दर्ता गर्नका लागी निर्वाचन कार्यालय पुगेका छन । यता, नगर कार्यसमितिले भने टिकट दिने अधिकार भएको व्यक्तिबाट पाएको टिकटलाई आधिकारिक मानिने जनाएको छ।