७ बैशाख २०८१, शुक्रबार 1713538817
Banner

सातौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश, सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवं विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसका अवसरमा जारी गरेको सन्देशमा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्‍याउन सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेको उल्लेख गर्नुभएको छ । साथै, उहाँले यस विषयमा सम्बद्ध सबैको ध्यान आकृष्ट गराउनुभएको छ ।

गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइप्रति उहाँले हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्विक एवं ऐतिहासिक सम्पदा, सरकारी तथा सार्वजनिक भवन, शैक्षिक र स्वास्थ्य संस्थाका भवन, निजी आवास, सडक र पुललगायतका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य लगभग सम्पन्न गरिसकेको छ ।”

बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत भूकम्पपश्चात्को पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूमा सहयोग गर्ने मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू र स्वयंसेवकहरू सबैलाई राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुकहरूमध्येमा पर्दछ । हाम्रो देश भूकम्पीय जोखिममा पर्नुका मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भए पनि मानव निर्मित कमजोर भौतिक संरचना पनि त्यतिकै जिम्मेवार रहेको छ ।

“विगतको भोगाइ र अनुभवबाट पाठ सिक्दै आउँदा दिनहरूमा भूकम्पजस्ता प्राकृतिक विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न र भूकम्पको असर थेग्नसक्ने भौतिक संरचना निर्माण गरिनु अति आवश्यक छ”, सन्देशमा भनिएको छ, “सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना गर्दछु ।”