६ बैशाख २०८१, बिहीबार 1713480156
शिक्षा /स्वास्थ्य

कोरोना भाइरस सङ्क्रमण तेह्र जनामा पुष्टि

देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २५५ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७४३ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १८१ रहेको छ । पछिल्लो समय थप २५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५२३ पुगेको छ । यो दर ९८ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 

नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय ४८ हजार ९४ ले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३६९ रहेको छ । अहिले होम आइसोलेशनमा २६७ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा दुई जना रहेका छन् । आइसीयूमा र भेन्टिलेटरमा कोभिड सङ्क्रमित बिरामी छैनन् ।