८ बैशाख २०८१, शनिबार 1713603635
Uncategorized

एमाले सुनसरी अध्यक्षका लागि द्वारिकलालसहित तीन जनाको आकांक्षी

सुनसरी – नेकपा एमालेले पुस २३ गते शुक्रवार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ ।

सुनसरी एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरूले सक्रियता बढाएका छन् । नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढाइरहँदा जिल्ला अध्यक्षका लागि भने तीन नेताहरूले आकाङ्क्षा राखेका छन् । अहिले देखिएका अनुहार भने कुनै नयाँ होनन् । जो यस अघि जिल्लाको पदाधिकारीमा बसेर काम गरिसकेका छन् ।

अध्यक्षमा दाबी गर्ने मध्ये पूर्व संविधान सभा सदस्य रेवती रमण भण्डारी हुन् । उहाँ यसअघि तत्कालीन नेकपा हुँदा पार्टीको जिल्ला अध्यक्ष तोकेको थियो । नेकपा विभाजित भएर एमाले बनेसँगै उहाँलाई १० बुँदेको वकालत गर्दै आएका जिल्लाका नेताले नेतृत्व मान्न तयार नभएपछि भण्डारीले अध्यक्ष छोडेका थिए । उहाँ इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।

त्यस्तै अर्का अध्यक्षका आकाङ्क्षी हाल जिल्ला अध्यक्ष खेमराज पोखरेल हुन् । यसअघि जिल्ला उपाध्यक्षमा बसेर काम गरिसकेका पोखरेल अध्यक्ष दोहोर्‍याउने दाउमा हुनुहुन्छ । पोखरेल पार्टी प्रदेश कमिटी सदस्य तथा तत्कालीन केपी ओली सरकारले बनाएको सुकुम्वासी आयोग जिल्ला अध्यक्षसमेत हुनुहुन्थ्यो । नेकपा विभाजित भएपछि उहाँले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

त्यस्तै अध्यक्षका अर्का आकांक्षी इटहरीका मेयर द्वारिकलाल चौधरी हुन् ।

पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बनेका चौधरी स्थानीय तहको चुनाव अघि जिल्ला अध्यक्ष हुन् । उहाँ प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ ।

विवादित रूपमा चर्चामा आइरहने मेयर चौधरीले जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल सकिन लागेको भन्दै पार्टीमा रहेर सक्रिय राजनीति गर्ने चाहना राख्नुभएको हो ।