८ बैशाख २०८१, शनिबार 1713639350
पालिका

वडाअध्यक्ष र वडासदस्यमा खुम्च्याइयो एकीकृत समाजवादीलाई

काठमाडौं– एक महानगरपालिका र एक उपमहानगरपालिकाको प्रमुख पाएको एकीकृत समाजवादी जिल्ला र प्रदेशबाट हुने बाँडफाँडमा नराम्ररी पछारिएको छ ।

नेकपा एकीकृत समाजवादीले सिट बाँडफाँडमा देशैभर धोका पाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले त महानगर उपमहानगरमा उत्साही बनाए पनि जिल्लाबाट धोका पाएको सार्वजनिक प्रतिक्रिया दिनुभएको छ ।

धरान उपमहानगरमा एकजना वडाध्यक्षमा सीमित गरिएको छ ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्म पनि एकीकृत समाजवादीलाई ठाउँ दिइएन ।

नेकपा एस ताप्लेजुङले एक विज्ञप्ति जारी गर्दै ‘परि आए एक्लै चुनाव लड्ने’ चेतावनीसमेत दिएको छ । गठबन्धनमा आबद्ध दलहरूले आफूहरूको असहमतिका बाबजूद मनमौजी ढंगले बैठक बसी मापदण्ड उल्लंघर गरी भागबण्डा गरेको भन्दै नेकपा एसले आपत्तिसमेत जनाएको छ ।

विज्ञप्तिमार्फत् गठबन्धनमा आबद्ध दलहरूले मापदण्ड विपरीतका गतिविधि कायम राखेको खण्डमा गठबन्धनबाट बाहिरिएर आफ्नो पार्टी अघि बढ्नेतर्फ दलहरूको ध्यानाकर्षण गरिएको छ ।

झापामा वडा सदस्यसमेत दिन आनाकानी गरेपछि गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ । मोरङ र सुनसरीमा पनि उही हविगत भएको छ ।

संखुवासभा र तेह्रथुमबाहेक प्रदेश नम्बर १ मा एकीकृत समाजवादी अलग्गिएको छ ।

उपमहासचिव डा। विजय पौडेलका अनुसार ७७ मध्ये ६५ जिल्लामा गठबन्धनले आफूहरुलाई पेलेको बताउनुभयो ।