२०७९ आश्विन १२ बुधबार 1664369362
Banner

सुन बिक्न छोडेको देश

यतिवेला मुलुकको अर्थतन्त्र भयावह अवस्थामा छ । यो सवैलाई थाहा भएकै कुरा हो । लाखौ मानिसहरुको व्यापार व्यवसाय तरलता अभावका कारण अलपत्र परेका छन, जसका कारण मानिसहरुमा एकखालको मानसिक तनाव सीर्जना भएको छ । मुद्राको सर्कुलेशनले आर्थिक कारोवारमा जुन प्रभाव सीर्जना गर्नुपथ्र्यो तर त्यसको मुहान नै नरसाएपछि त्यसको चेन प्रणालीमा रहेका लाखौ मानिसहरु प्रभावित हुने नै भए । यसवाट मानिसहरुमा आपसी मनमुटावदेखि अविश्वासका वातावरणहरु सीर्जना हुन थालेका छन र यसले सामाजिक विश्वासनीयता समेत गुमाउने संभावना वढदै गएको छ । तर यो अवस्था किन र कसरी उत्पन्न भयो ? यसको समाधानका उपायहरुतर्फ नीति नियमका जिम्मेवार मानिसहरुको ध्यान गहिरो ढंगले केन्द्रीत हुन सकिरहेको छैन । जसकाकारण मुलुकले अझै थप आर्थिक संकटको सामना गर्नु पर्नेछ ।

तरलता अभावका धेरै कारणहरु छन । यसको पहिलो कारण भनेको सरकारले समयमा आफनो पुँजीगत खर्च गर्न नसक्नु नै हो । जसरी कोटको खल्तीमा पैसा राखेर त्यसलाई खर्च गर्न नसक्दा त्यसले कुनै काम गर्दैन, त्यस्तै सरकारको खातामा रहेको बजेट समयमा खर्च गर्न नसक्दा बजारमा मुद्राको प्रवाह हुन नसक्दा त्यो पैसाले पनि काम गर्न सकेन । त्यसैले मुद्रा बजारमा तरलताको अभाव उत्पन्न भयो । दोस्रो हाम्रो देशको महत्वपुर्ण हिस्सा विप्रेषणले धानेको थियो , तर अहिले त्यो विप्रेषण रकम पनि क्रिप्टो करेन्सी अर्थात भर्चुअल (डिजिटल) मनी खरीद गर्ने काममा अलि पहिलादेखि नै प्रयोग हुदै आएको छ । त्यसमा देश वाहिरका नेपालीहरुमात्रै होइन, देशभित्रकै नेपालीहरुको लगानीका कारण बाहिरबाट नेपाल भित्रिने पैसा रेमिट्यान्समा कमी आएको छ जसका कारण पनि नेपालभित्र तरलताको संकट देखिएको हो । तेस्रो नेपालमा पहिलेको तुलनामा नेपालमा जुनमात्रामा बैदेशिक लगानी भित्रिन्थ्यो, त्यो अनुपातमा अहिले भित्रिन सकिएको छैन, यसको एउटा कारण कोरना भएपनि नेपालको अस्थिर चरित्रको राजनीति, सुशासन र सुरक्षाका प्रश्नहरु यो विषयसँग जोडिएका छन । जसको कारण पनि मुलुकले तरलताको अभाव वेहोर्नु परेको छ ।

तरलता अभावको अर्को कारण भनेको बैकहरुका वितिय कारोवारमा प्रयोग हुने क्रेडिट, कोर क्यापिटल र डिपोजिटको अनुपात हो । राष्ट्र बैकको पछिल्लो परिमार्जित मौद्रिक नीति अनुसार अहिले बैक वितिय संस्थाहरुले कोर क्यापिटललाई ऋण प्रवाह गर्न पाउदैनन । डिपोजिटको अनुपातमा मात्रै बैकहरुले ऋण प्रवाह गर्न सक्ने भएकोले बैकहरुसँग पर्याप्त डिपोजिट नहुदा ऋणको प्रवाह हुन सकिरहेको छैन । त्यसैले पनि हाम्रो देशमा आर्थिक संकट देखा परेको छ ।

अहिले हाम्रो देशको व्यापार घाटा विगत १० महिनामा १० खर्व ६० अर्वभन्दा वढी छ । यो व्यापार घाटाले हाम्रो विदेशी मुद्राको सञ्चिति अकल्पनीयरुपमा घटेको छ । नेपालले अव केही हप्ता वा महिनापछि पेट्रोलियम प्रटक्टहरु किन्न धौ धौ पर्नेछ । भन्सारमा आधारित राजस्व उठाउन सरकार आयातलाई प्रोहत्साहन गरिरहेको छ । पछिल्लो समयमा आयातमा कडाई गर्नकालागि प्रतितपत्र लगायतका नीतिहरुमा परिवर्तन गरेपनि त्यसले प्रभावकारी काम गर्न सकिरहेको छैन ।

सवैभन्दा डरलाग्दो कुरा के हो भने कुल ४२ खर्वको कुल ग्राहस्थ उत्पादन रहेको हाम्रो मुलुकमा ६ खर्वभन्दा वढी रकम बैकिङ प्रणालीभन्दा वाहिर छ । त्यो कहाँ र कसरी बसेको छ, त्यो कसरी निस्कन्छ, सरकारलाई चासो छैन । अहिले हाम्रा आर्थिक सुचकहरु नकारात्मक दिशामा अगाडी वढीरहेका छन । तर यसलाई सुधार्नकालागि सरकारले नयाँ विकल्पहरु अगाडी ल्याउन सकिरहेको छैन । सरकारले केही दिन अगाडी राष्ट्र बैकका गर्भनरलाई निलम्वन गरयो । सर्वोच्च अदालतले सरकारको त्यो निर्णयलाई स्वीकार गरेन र गर्भनर फेरी राष्ट्र बैक पर्किनु भएको छ । सरकार र राष्ट्र बैकवीचको यो खटपटी मुलुकको आर्थिक संकटको समाधान गर्ने कुराको सकारात्मक पक्ष होइन । निषेधले भन्दा संवाद सहकार्यबाट नै मुलुकको आर्थिक संकट समाधान गर्न सकिन्छ भन्ने कुरालाई यहाँ एकपक्षले विर्सियो भने यसले थप आर्थिक संकट निम्त्याउन सक्छ ।

यतिवेला बैकहरुले जग्गामा लगानी गर्न छोडेका छन । गाडी खरिद प्रक्रियादेखि घर खरिदसम्म बैकहरुले लगानी नगर्ने राष्ट्र बैकको नीति रहेको छ । हिजो बैकहरुले ठुलोमात्रामा घरजग्गा र गाडी खरिदमा लगानी गरिरहेको अवस्थामा आज त्यसलाई ठ्याक्कै रोक्दा र बैकल्पिक क्षेत्रमा समेत बैकहरुले ऋण प्रवाह गर्न नसक्दा पनि मुलुकमा तरलताको संकट देखा परेको हो ।
अहिले बैकहरुलाई १० लाखको चेक साटन निकै मुस्किल छ । बजारमा यस्तो हल्ला प्रवाह हुनाले मानिसहरुले आफुसँग रहेको सानोतिनो रकम पनि डिपोजिट गर्न गा¥हो मानिरहेका छन । बैकले भनेको समयमा आफनो निक्षेपपनि फिर्ता गर्न अप्ठयारो मानिरहेको अवस्थामा मानिसहरुमा यो मनोविज्ञान उत्पन्न हुनु अस्वाभाविक होइन ।

संसारमा सुन युनिभर्सल धातु हो । डलरदेखि संसारभरीका प्रायस सवै मुद्राहरु गोल्ड प्याक्ड मुद्रा हुन । धेरै देशमा मुद्राहरु डलर प्याक्ड हुन्छन । त्यसैले मानिसहरु सुनलाई डलरभन्दा माथिको युनिभर्सल मुद्रा मान्दछन । तर अहिले अचम्मको कुरा तरलता अभावकै कारण हाम्रो देशमा बैकहरुले सुन डिपोजिट गर्न मानिरहेका छैनन । अहिले बैकमामात्रै होइन, सुनका कारोवारीहरुले समेत सुन डिपोजिट गर्न र सुन किनवेच गर्न सक्ने अवस्था छैन । अव तपाई भन्नुस, जुन देशमा सुन डिपोजिट हुन कठिन हुन्छ र सुन विक्री हुन कठिन हुन्छ, त्यो देशको तरलताको अवस्था के होला ? तरपनि सरकार मौन छ, राष्ट्र बैक मौन छ । यो मौनता कहिले तोडिएला र नागरिकहरुले तरलताको अभावबाट निस्किएका तनावका सुस्केरा र खुईया गर्ने दिनको कहिले अन्त्य होला ?

आर्थिक प्रणाली भनेको सामाजिक प्रणाली पनि हो । तर जुनदेशको आर्थिक प्रणालीमा सुन विक्न सक्दैन भने त्यो देशको सामाजिक प्रणाली पनि सङ्गलो हुन सक्दैन । यो आर्थिक संकटले अव हाम्रो सामाजिक प्रणालीलाई पनि अराजकतातर्फ धकेल्न सक्छ । त्यसले हाम्रो राजनीतिक प्रणालीलाई पनि असर पार्न सक्छ । यदि नीति निर्माताहरुले यो आर्थिक संकट समाधानकालागि बेलैमा पहल नगर्ने हो भने भोलीका दिनमा देखिने आर्थिक र सामाजिक अराजकताको जिम्मेवार वर्तमान सरकार नै हुनेछ ।

(लेखक डा.रोका युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष हुनुहुन्छ )