१२ बैशाख २०८१, बुधबार 1713974221
फिचर

चिम्पान्जीको जोडीलाई सुविधासम्पन्न आवास गृह

काठमाडौं । मान्छेका व्यवहारसँग धेरै कुरा मिल्ने एक जोडी चिम्पान्जीले झण्डै ४ वर्षपछि सुविधासम्पन्न बासस्थान पाएका छन् ।

वनमान्छे चिम्पान्जीको एक जोडीलाई जावलाखेलस्थित सदर चिडियाखानाभित्र सुविधा सम्पन्न आवास गृह निर्माण गरी त्यहाँ सारिएको हो । यसअघि ती जोडी सानो खोरमा थिए । सुविधा सम्पन्न बासस्थानमा चिम्पान्जीको जोडीलाई खटिया, लुगाफाटोको व्यवस्था छ । खाना खाने थाल अनि पानी पिउने छुट्टै भाँडाकुँडा छन् ।

गर्मी ठाउँमा हुर्कने यो चिम्पान्जीको जोडीलाई राति सुत्ने ठाउँमा वातानुकूलित बनाइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा। प्रेमनारायण कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले संयुक्त रूपमा आवास गृहको उद्घाटन गर्दै सो गृहमा ती चिम्पान्जी जोडीलाई खुला गरे ।

विशेष गरेर दक्षिण अफ्रिकी मुलुकका जंगलमा पाइने यो प्रजातिका २ वटा बच्चालाई अवैध रूपमा नेपाल ल्याएर किनबेच गर्न थालेको अवस्थामा २०७४ असोज ३१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उद्धार गरेको थियो ।

उद्धार गरिएका बच्चालाई पालन पोषण गर्ने जिम्मा सदर चिडियाखानालाई दिएको थियो ।

सानो खोरमा झण्डै ४ वर्ष हुर्केपछि युवा भएका चिम्पान्जीलाई सुविधा सम्पन्न गृहमा राखिएको हो । उद्धार गर्दा भाले बच्चा ३ महिनाको साढे ३ केजी तौल भएको र पोथी बच्चा ६ महिना उमेरको ४ केजी तौलको थियो ।

अहिले भालेको तौल २१ केजी र पोथीको २४ केजी छ । ४ वर्षदेखि चिम्पान्जीको हेरचाहमा संलग्न सदर चिडियाखानाका कर्मचारी रामकाजी पहरीका अनुसार राति अँध्यारो भएपछि ओछ्यानमा सुत्न जान्छन् ।

पहरीले भने, ‘‘हेर्दा जनावर हो तर बानी व्यवहार सबै मान्छेको जस्तै लाग्छ । बोल्न नसक्ने भए पनि माया गर्ने, दुःख पर्दा रुने अनि एकअर्कासँग जिस्किने बानी मानिसको जस्तै हुँदो रहेछ ।’’

पहरीका अनुसार भाले कान्छो र पोथी जेठो उमेरको भएकाले पोथी चिम्पान्जीले भालेलाई काखमा राखेर माया गर्छे र भालेले पोथीको लालित्यमा रमाउने गर्छ । सानो बच्चा अवस्थामा सिकाएका सबै कुरा अनुसरण गर्न सफल यो जोडी खेल्दा होस् वा ओछ्यानमा जहिले पनि सँगै बस्ने गरेको दाबी पहरीले गरे ।

पहरीले भने, ‘राति ओछ्यानमा गएपछि एकअर्काले लुगाफाटो ओढाइदिने गर्छन् । बिहान जुन छिटो उठ्यो उसले अर्कोलाई उठाउने गर्छ । खाना एक्लै नखाने बानी हुँदो रहेछ । खानेकुरा पनि बाँडेर मात्र खाने बानी छ ।’

नाइजेरियाबाट भारत हुँदै नेपाल ल्याइएका ती चिम्पान्जी शुक्रवारदेखि चिडियाखानामा अवलोकन गर्न खुला गरिएको छ ।

चिडियाखानामा नयाँ र दुर्लभ प्रजातिको वन्यजन्तुलाई खुला गरिएपछि हेर्न आउनेहरूको संख्यामा बढ्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले बताए । चिम्पान्जीको वंशाणु मानवसँग ९९।५ प्रतिशतसम्म मिल्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका डा। नरेश सुवेदीले बताए ।

चिम्पान्जीको औसत आयु ४० वर्षको हुन्छ भने वयस्क चिम्पान्जीको अधिक तौल २०० केजीसम्म हुन्छ । गोरखापत्रमा खबर छ ।