११ बैशाख २०८१, मंगलवार 1713918950
खेलकुद

एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

१९औं एसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १९औं एसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो ।

नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सीङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन र सुटिङमा सहभागिता जनाउने राखेपले जनाएको छ ।

राखेपका अनुसार २३ वटा खेलमा नेपालबाट एक सय ५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापनक सहभागी हुनेछन् ।

यस्तै नवौं राष्ट्रिय खेलकुदमा कुल ३८ वटा खेलमा प्रतिस्पर्धा हुने भएको छ । नवौंमा सातै प्रदेश र विभागीय टोलीसँगै गैर आवासीय नेपाली संघ ९एनआरएनए० बाट पनि खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ ।

राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्ष देखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज भएको थियो ।

सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए । युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा भएको बैठकले सो निर्णय गरेको हो ।

यस अघि अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो ।

मन्त्री परिषद्को बैठकले यसअघि नै नवौ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।