२०७९ आश्विन १६ आईतवार 1664768101
राजनीति

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इलाममा चुनाव लड्ने

नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाममा स्थानीय तहको चुनावमा भाग लिने भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

पार्टीको १४औं जिल्ला कमिटी बैठक पछि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले इलाम नगरपालिकाको नगर प्रमुखमा फडिन्द्र न्यौपाने र उप–प्रमुखमा नारदमणि साम्पाङ, माई नगरपालिकाको प्रमुखमा युवराज आचार्य र उप–प्रमुखमा अमर राई, देउमाईको नगर प्रमुखमा मोहन बराल, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड्ग राई, चुलाचुलीको अध्यक्षमा गणेशबहादुर पौड्याल, माईजोगमाईको अध्यक्षमा बेनुप तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

बाँकी पालिका र वडामा उम्मेदवारको चयनको प्रक्रियामा रहेको पार्टीका जिल्ला इन्चार्ज सुमन सिंहले बताए । नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता छैन । त्यसैले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव भिड्नेछन् ।