१३ बैशाख २०८१, बिहीबार 1714075086
Banner

संसद विघटन सही थियो, नत्र प्रचण्ड-माधवले पार्टी कब्जा गरेर ध्वस्त पार्थे : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने कुरा भूलचुकले पनि नबोल्न पार्टी पंक्तिलाई निर्देशन दिनु भएको छ ।

सल्लाहकार परिषद्को पहिलो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले केही नेताले मौका पाउँनासाथ विघटन गलत थियो भन्ने गरे पनि सल्लाहकारले भुलेर पनि त्यसो नभन्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘केही साथीहरू मौका पाउँनासाथ प्रतिनिधिसभा विघटन त गलतै थियो भन्नु बाँकी राख्दैनन् । यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का कोही पनि कमरेडले भूलचुकले पनि नबोल्न आग्रह छ । विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ । नत्र प्रचण्ड-माधव जस्ताको कजमा गएर एमाले ध्वस्त भइसक्थ्यो । प्रचण्ड-माधवहरूको कब्जामा गएर भाइलाई के बनाउने, छोरी-बुहारीलाई के दिने भन्नेमै केन्द्रित भएर यो पार्टी समाप्त हुने थियो ।’

प्रतिनिधिसभा विघटन गरेर पार्टीलाई प्रचण्ड-माधवको कब्जाबाट जोगाएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो देशको प्रमुख शक्ति बन्नुमा त्यही विघटनबाट पार्टी जोगाएकाले भएको हो ।