६ बैशाख २०८१, बिहीबार 1713425552
राजनीति

कांग्रेसका क्षेत्रीय सचिव र वडाध्यक्षसहित २५० जना चर्चित नेता एमाले प्रवेश

कपिलवस्तु । कपिलवस्तुमा काँग्रेसका क्षेत्रीय सचिव र वडा अध्यक्ष, वडा सदस्यसहित २५० जना नेकपा एमालेमा प्रबेश गरेकाछन् । नेपाली काँग्रेस कपिलवस्तुका प्रभावशाली युवा नेता एमाले प्रवेश गरेसँगै बुद्धभूमि र महाराजगञ्ज नगरपालिकामा हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई सकस हुने देखिएको छ ।

नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नं। २ का सचिव गंगेशनाथ तिवारी, महाराजगञ्ज नगरपालिका वडा न।ं ११ का वडाध्यक्ष जगदिश तिवारी , वडा सदस्य रामपति यादव , वनसपति कोरी लगायत २५० जना नेकपा एमाले पार्टीमा प्रवेश गर्नु भएको छ । युवा नेता गंगेशनाथ तिवारीको महाराजगञ्ज नगरपालिकामा मात्र नभई बुद्धभूमि नगरपालिकाको वडा नं। ६,७ र ८ मा समेत प्रभाव रहेको छ । आजीवन राजनीति गर्दै आएका तिवारी परिवारको एमालेमा इन्ट्रीलाई लिएर नेपाली काँग्रेसमा समेत चर्चाको विषय बनेको छ ।

काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र समेत रहेका गंगेशनाथ तिवारी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । उहाँहरुलाई पार्टी प्रवेश गराउन एमाले नेता तथा संघीय सांसद वृजेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, महाराजगञ्जका एमाले नेता रामदास चौधरी महाराजगञ्ज निर्वाचन सम्पर्क कार्यालयमा पुग्नु भएको थियो ।

प्रवेश कार्यक्रममा बोल्दै नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नु भएको थियो । नेता गुप्ताले एमालेप्रति मधेशमा जनलहर बढेको बताउँदै कपिलवस्तुमा एमालेले सबैभन्दा धेरै सिट जित्ने दाबी गर्नु भयो ।

कार्यक्रममा बोल्दै एमाले प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले कपिलवस्तुमा एमाले पहिलो पार्टी हुने दाबी गर्नु भयो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, एमाले महाराजगञ्ज अध्यक्ष निजामुद्धीन खान, युवा नेता रामदास चौधरीले जनतालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको थियो । यस अघि संघीय सांसद वृजेश कुमार गुप्ता आफ्ना १० हजार कार्यकर्ताका साथ एमाले प्रवेश गर्नु भएको थियो ।

गुप्तासँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपप्रमुख वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं। १ का वडाध्यक्ष सुदिप पौडेल, वडा नं। ४ का वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं। १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं। ६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नं। ८ का अध्यक्ष सहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गर्नुभएको थियो ।

त्यस्तै जिल्लाको वहादुरगञ्जबाट जसपाका प्रभावशाली नेता मंगल गुप्ता र कृष्णनगरका नेपाली कांग्रेसका नेता कुनाल शाहसहित हजारौं कार्यकर्ता एमाले प्रवेश गरिसकेका छन् । एमालेप्रति जनताको विश्वासले गर्दा कपिलवस्तु एमालेको लालकिल्ला भएको जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो ।