२०७९ मंसिर १६ शुक्रबार 1669994492
Banner

स्थानीय निर्वाचनः गठबन्धनको जात्रा, माझण्डहरूको यात्रा र एमाले

स्थानीय निर्वाचनको मिति जति नजिकिंदैछ त्यति माधवं झलानाथं प्रचण्ड माझण्डे हरूको छटपटी बढ्दो छ। नेपाली कांग्रेसले माझण्डहरूलाई उनीहरूले अपेक्षा गरे जति सिट नदिनका लागि स्थानीय तथा जिल्ला तहका नेता तथा कार्यकर्ताहरूलाई चुनावी गठबन्धनको विरूद्ध बोल्न र दबाव बढाउन लगाउने, केन्द्रमा गठबन्धन बैठक नियमित चलाउने अनि माझण्डहरूलाई गलाउने रणनीति लिएको छ। तर माझण्डहरू आफ्नो राजनीतिक अस्तित्व जोगाउन कै लागि भएतापनि कांग्रेससँग जसरी पनि तालमेल गर्न चाहन्छन् भन्ने कुरा प्रधानमन्त्रीले नबुझ्ने कुरै भएन। त्यसैले माझण्डहरूले गठबन्धन छोडेर नजाउन र वामपन्थी गठबन्धन नबनाउन भनेर देउवाले उनीहरूलाई अलमल्याउने प्रकृतिको राजनीति गरिरहेका छन्।

‘मान पुगेन अपमान भो’ भनेर नेकपा एमालेबाट कथित विद्रोह गरेर मानका खातिर नेपाली कांग्रेसलाई सत्ता सुम्पिन र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेको घरमा आगो लगाउने कुण्ठा रूपी माधव नेपाल भन्दैछन् ‘मेरो शक्ति कम आँकेर अपमान नगरियोस्। मलाई अपमान गरेको हुनाले केपी ओलीलाई सत्ताको सगरमाथाबाट भूईंमा पछार्न निर्णायक भूमिका खेलेका हौं।’ माधव नेपालको यो रोइलो देखेर र सुनेर राम राम मात्र भन्न सकिन्छ। “आमाको काख छोडेर अरूको लाखमा” रमाएका माधव नेपाल हिजोआज छटपटिएर बराबराउन थालेको देख्न र सुन्न पाएका छौं। माधव नेपालको रोइलो र छटपटी देखेर नेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कतै चुनावको मुखमा सत्ता छोड्नु पो पर्ने होकि भन्ने त्रासमा रहेको देउवाका सार्वजनिक अभिव्यक्तिहरूबाट बुझ्न सकिन्छ। त्यसैले देउवा भन्ने गरेका छन्, “गठबन्धनकै बलमा प्रधानमन्त्री बनेको हुँ, धोका दिन मिल्दैन्। गठबन्धनलाई मिलाएर लैजाने जिम्मेवारी हाम्रो हो, सहजीकरण गरौं।”

नेकपा एमालेलाई स्थानीय चुनावमा पहिलो शक्तिको रूपमा स्थापित हुन नदिन र आफ्नो अस्तित्व जोगाउन माझण्डहरूले पाँच दलीय गठबन्धन बनाएर चुनावमा जानुपर्छ भनेर नेपाली कांग्रेसमाथि दबाव दिइरहेका छन्। नेकाले पनि एकातिर सत्ता जोगाउने अर्कोतिर वामपन्थी गठबन्धन बन्न नदिने “विभाजन र शासन” रणनीतिका साथ समय घर्काउने प्रयास गरिरहेको छ। तर पाँच दलीय गठबन्धनका विरूद्धमा बिस्तारै नेकपा एमालेका पक्षमा चुनावी माहोल बन्दै गरेको छ। हिमाल पहाडमा मात्र होइन तराई मधेसमा पनि पाँच दलीय गठबन्धन छोडेर एमाले प्रवेस गर्ने लहर चलेको छ। यसबाट अत्तालिएर कम्फर्टेबल सत्ता गठबन्धनले चुनाव नै सार्ने षडयन्त्र पो गर्न पनि सक्छन् कि भन्ने अडकल गरिदैछ।

अब नेपालको राजनीति कस्तो बनाउने भन्ने कुरा स्थानीय सरकारहरूमा कुन विचार र दलले राम्रो स्थान ल्याउँछ भन्ने चुनावी नतिजाले निर्धारण गर्नेछ। राष्ट्रिय स्वाभिमान र स्वार्थ नहेर्ने शेरबहादुर देउवाको नेतृत्वमा रहेको कम्फर्टेबल सत्ता गठबन्धन, २०५८ जेठ १९ को दरबार हत्याकण्डमा वंशनास भएको राजतन्त्र खोज्ने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी, निर्दलीय चरित्र भएका अटेरी युवा समुह र तिनका स्वतन्त्र उम्मेदवारहरू भन्दा तुलनात्मक रूपमा “जनताको बहुदलीय जनवाद” बाट निर्देशित नेकपा एमाले नै बढी लोकतान्त्रिक र प्रगतिशील अनि देशभक्त भएको राजनीतिक घटनाक्रमहरूले बिस्तारै पुष्टि गर्दैछ। त्यसैले पनि होला, देशभरी एमाले प्रवेसको लहर नै चलेको छ।

फेरि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पराजित मनोविज्ञानका करणले कांग्रेसका स्थानीय नेता तथा कार्यहरूको पनि मनोबल कमजोर बन्न थालेको छ। त्यसैले प्रचण्डको धम्की अनि माधव नेपालको घुर्कीले शेरबहादुर देउवा डराएर गठबन्धनविना एमालेलाई हराएर चुनाव जित्न सकिन्न भनेर सार्वजनिक अभिव्यक्ति थालेका छन्।

सत्ता गठबन्धनमा रहेका मुख्य नेताहरूको पराजित मनोविज्ञान र तिनका कार्यकर्ताहरूको कमजोर मनोबलले गठबन्धनविना स्थानीय चुनावमा गइयोभने एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनौं भन्ने ठाउँमा पुगेका छन्। त्यसैले काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विरगञ्ज र विराटनगरलगायतका महानगरहरूमा गठबन्धनको साझा उम्मेदवार उठाएर चुनावमा जाने अनौपचारिक सहमतिले नेका र माझण्डहरूको राजनीति सकिने अवस्था बन्न थालेको संकेतपूर्ण समाचार र विश्लेषणमा पढ्न पाईंन्छ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रको सुप्रिमो प्रचण्ड पुत्री रेणु दाहाल बन्ने लगभग निश्चित भएको छ। रेणु दाहाल चुनाव प्रचारमा जुटेकी छिन्। यसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कार्यकालमा चितवनबाट नेपाली कांग्रेसको राजनीति सकिने परिस्थिति बनेको छ भनेर कांग्रेसका कार्यकर्ताहरूले भन्न थालेका छन्। प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रको जनधरातल खस्कदै गएको थाहा नभएका हामी कोही छैनौं। वैचारिक धरातल नभएका कुण्ठाबाट निर्देशित माधव नेपालको नेतृत्वमा नेकपा एसलाई जनताहरू पत्याउने अवस्थामा छैनन्। भरतपुर महानगरपालिकामा जस्तै नेपाली कांग्रेस नेपालको राजनीतिमा विस्तारै कमजोर बनेको र जनमत गुमाउने अवस्था पुगेको छ। तर पनि कांग्रेस नजिकका बौद्धिक नेता तथा प्राज्ञिक वर्गहरूले वैचारिक रूपमा हस्तक्षेप गर्न सकेका छैनन्। जसले हस्तक्षेप गर्न खोज्छन्, तिनलाई चन्द्र भण्डारीजस्तै भूमिकाविहिन बनाइएको छ।

सत्तामा रहेका दलहरूले गठबन्धनको गृहकार्य गरिरहँदा र तालमेलको खाँका बनाइरहँदा ति दलहरूभित्र असन्तुष्टी देखिन थालेका छन्। यसको प्रमाणको रूपमा नेपाली कांग्रेस र नेकपा एसलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिलाई लिन सकिन्छ। प्रचण्डले पार्टीको आन्तरिक बैठकमा भनेका छन्, गठबन्धनमा कांग्रेसको घमण्ड र नेकपा एसको हैसियतभन्दा बढी दाबीले घाँडोको रूप लिदैछ, जसले चुनावी गठबन्धन जटिल बनेको छ। तर पनि हामी गठबन्धनको प्रयास गरिरहेका छौं।

गठबन्धनमा रहेका दलहरूभित्र देखिएको दाउपेच, असन्तुष्टी अनि पराजित मनोविज्ञानका कारणले उम्मेदवारी दर्ता नहुँदै नेकपा एमालेले पहिलो चरणमा चुनाव जितेको छ। पहिलो दल बन्ने सम्भावना बढेको छ। त्यसको उदाहरण देशका विभिन्न भागमा एमालेले गरेका आमसभामा जनताको बढ्दो सहभागिता र पार्टी प्रवेसका समाचारहरूलाई लिन सकिन्छ। कम्फर्टेबल गठबन्धनको जात्राले माझण्डहरूको राजनीतिक यात्रा संकटपूर्ण मात्र बनाएको छैन्, पतनको बाटो पनि समातेको छ। त्यसैले माओवादी केन्द्र र एसमा लागेका नेता तथा कार्यकर्ताहरूले आफ्नो वामपन्थी चरित्र र राजनीतिक धरातल जोगाउनका लागि भएतापनि कम्तिमा कांग्रेसको विपक्षमा मतदान गर्नुपर्ने निर्णयमा पुग्नुपर्ने भएको छ। त्यसैगरी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आफ्नो राजनीतिक साख जोगाउनकै लागि भए पनि रूख चिन्हबाहेक अन्त भोट नदिने सङ्कल्प गर्नुपर्ने बाध्यता बनेको छ।

अहिले राजनीतिमा जुन परिस्थिति र नेता तथा कार्यकर्ता अनि जनताको जस्तो मनस्थिति बनेको छ, त्यसले गठबन्धनको मनोविज्ञान पराजित र आत्मविश्वास कमजोर बनाउँदै छ भने नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूमा चुनाव जित्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ। यो खालको मनस्थिति र परिस्थितिको अधिकतम उपयोग गर्नका लागि एमालेले राम्रो उम्मेदवार चयन गर्दै जनमुखी र व्यावहारिक प्रतिबद्धता पत्र ल्याउन सक्यो भने स्थानीय चुनावमा पहिलो दलबाट बन्नबाट एमालेलाई गठबन्धनले रोक्न सक्ने अवस्था छैन्। त्यसैले भाग्यमा छ भन्दैमा डोकोमा दुध दुनु हुँदैन् भन्ने चेतनाका साथ नेकपा एमालेका केन्द्रीय नेतादेखि स्थानीय तहका नेताहरूले विवेक पुर्याएर अनि क्षमता र योग्यता देखाएर उम्मेदवार चयनदेखि जनपरिचालनका गतिविधि गर्न सक्नुपर्छ। यो स्थानीय निर्वाचनले एमालेका नेता तथा कार्यकर्ताहरूको विवेक, क्षमता र योग्यताको परीक्षण गर्दैछ भन्ने कुरा तिनले पक्कै बुझेको हुनुपर्छ।