८ बैशाख २०८१, शनिबार 1713596336
पालिका

फोहरको व्यवस्थापन घरबाटै

वातावरण संरक्षणका लागि फोहरको व्यवस्थापन घरबाट नै गर्नुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनसम्बन्धी बृहत् प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले घरबाट निस्किएका फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न सकिने बताए । घरबाट निस्किने फोहरलाई वर्गीकरण गर्दै प्राङ्गारिक मल र पुनःप्रयोग गर्न सकिने उहाँहरुको भनाइ थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घरबाट निस्कने फोहरलाई व्यवस्थापन अहिलेको चुनौति बनेको बताउनुभयो । घरघरबाट निस्किने फोहर व्यवस्थापनमा स्वयं घरधनी लाग्ने हो भने वातावरण संरक्षण र फोहरमैलाको व्यवस्थापन हुने उहाँको भनाइ थियो । अहिले महानगरमा दैनिक ७० टन फोहर उत्पादन हुँदै आएको र त्यसमा ५० प्रतिशत कुहिने फोहर हुने गरेको उहाँको भनाइ थियो । यसको व्यवस्थापनका लागि महानगरपालिकाले टोलटोलमा अभियान सञ्चालन गरेको भए पनि प्रभावकारी बन्न केही समय लाग्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरबाट निस्कने फोहरलाई घरमा नै व्यवस्थापन गर्ने बानी बसाल्न सकेमा वातावरण पनि सफा हुन्छ ।” महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले फोहर व्यवस्थापनका लागि महानगरपालिकाले आमा समूह तथा टोल सुधार समितिलाई तालिम दिएर काम अघि बढाएको बताउनुभयो । कुहिने फोहरलाई मलको रुपमा र नकुहिने फोहरले हस्तकला सामग्रीको रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो । ठकुरीले भन्नुभयो, “अब वातावरण संरक्षणमा महिला अघि बढ्नुपर्छ । घरबाट निस्कने फोहरलाई घरमा नै व्यवस्थापन गर्नुपर्छ ।” कार्यपत्र प्रस्तुत गर्दै तुलसी ज्ञवालीले फोहरलाई स्रोतबाटै व्यवस्थापन गर्न सके वातावरण सफा राख्न सकिने बताउनुभयो । उहाँले वातावरण संरक्षणमा सहयोग पु¥याउन समुदायस्तरबाटै काम गर्नुपर्ने बताउनुभयो । बायो ग्यास नेपालका प्रतिनिधि दीपेशराज शर्माले प्लास्टिक चुनौति र विकल्पका बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्लास्टिकको प्रयोगले वातावरण संरक्षणमा चुनौति थपिएको बताउनुभयो । यसको सही सदुपयोग गर्दै प्लास्टिकको सट्टामा अन्य झोलाको प्रयोग गर्न सकिने बताउनुभयो ।

प्लास्टिक कुहिने लामो समय लाग्ने भएकाले यसको प्रयोग कम गर्नुपर्ने उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी अष्मान तामाङ, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, प्लास्टिक व्यवसायी सङ्घका अध्यक्ष रामप्रसाद गजुरेल, हाम्रो दृष्टि राम्रो दृष्टिका सागर कार्कीलगायतले घरबाट निस्कने फोहरको सही सदुपयोग गर्दै सभ्य समाज निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । फोहरबाट निर्माण गरिएका विभिन्न सामग्रीको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा मिलन सचेतना महिला समूह भरतपुर–९ प्रथम, आनन्द अभिभावक आश्रम भरतपुर–२ द्वितीय, बाबुराम कँडेल (टायरको गमला निर्माण) तृतीय र महाकालेश्वर आमा समूह भरतपुर १० र निलगिरि जागृति टोल विकास समिति भरतपुर–११ ले सान्त्वना स्वरुप पुरस्कार प्राप्त गरेका थिए । प्रदर्शनीमा आमा समूह, टोल विकास संस्था र विभिन्न सङ्घसंस्था गरी २१ समूह सहभागी छन् ।