७ बैशाख २०८१, शुक्रबार 1713560646
पालिका

‘अनुभवले पालिकाको नेतृत्व हाँक्न सक्छौँ’मेयरमा महिलाको दाबी

पुरुषभन्दा महिला मतदाता बढी रहेको कञ्चनपुरमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महिलाले पनि नेतृत्वका लागि दबाब बढाएका छन् ।

सत्तारूढ दल गठबन्धनका शीर्ष नेताहरूबीच निरन्तर छलफलमा रहे पनि गठबन्धनभित्रका दलहरुमा पनि महिलाले पालिकाको नेतृत्व गर्ने अवसर पाउनुपर्ने माग जोडदार रूपमा उठेको छ । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले पालिकास्तरका कमिटीबाट केही नगरप्रमुखमा महिला उम्मेदवार सिफारिससमेत गरिसकेको छ ।

कञ्चनपुरमा कूल दुई लाख ९५ हजार ३५४ मतदातामध्ये महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ । यहाँको बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरी पार्टीभित्र नगरप्रमुखको ‘लविङ’मा हुनुहुन्छ । नेकपा एमालेबाट बेलौरी नगर उपप्रमुख हुनुभएकी चौधरीले पार्टीको नगर कमिटीले महिलामा आफू र अन्य दुई पुरुष उम्मेदवारको नाम जिल्लामा पठाएको बताउनुभयो ।

“यो पहिलो कार्यकालमा नगरप्रमुखसित सँगसँगै भएर धेरै काम गर्न सिकियो”, उहाँले भन्नुभयो, “अब नगर प्रमुख भएर पालिका हाँक्ने अनुभव पनि पर्याप्त भइसकेको छ ।” उहाँले पुरुषलाई मात्रै नगरप्रमुख दिनभन्दा महिलालाई पनि नेतृत्व गर्न अवसर दिनुपर्नेमा जोड दिनुभयो । आफूले न्यायिक समितिको नेतृत्व गरेर नागरिकका धेरै समस्याको समाधान गरेको चौधरीको भनाइ छ । “उपप्रमुखमा महिला मात्रै हुनुपर्छ भन्ने होइन”, उहाँले भन्नुभयो, “अवसर दिए महिलाले अझ सशक्तरूपमा पालिकाको विकास गर्न सक्छन् ।”

त्यसैगरी नेकपा एमालेबाट वेदकोट नगरपालिकाको नगरप्रमुख पद दाबी गरेकी उपप्रमुख सुशीला सिंहले पार्टीका गतिविधि वडा टोलसम्म लिएर पुगिरहेको बताउनुभयो । “नगरप्रमुखमा मसहित दुई पुरुषको नाम सिफारिस भएको छ”, सिंहले भन्नुभयो, “नौवटा पालिकामध्ये अहिलेको परिस्थति हेरेर पार्टीले महिलालाई नेतृत्व दिने विषयमा पक्कै पनि सोच्नेमा आशावादी छु ।”

उहाँले हाल उपप्रमुख रहेका यहाँका अधिकांश महिलाले नगर प्रमुख तथा उपाध्यक्षमा आकाङ्क्षा देखाएको बताउनुभयो । “पाँच वर्ष उपप्रमुख भएर काम गरेकाले नै अहिले नगर प्रमुखमा स्वभाविक दाबी हो”, उहाँले भन्नुभयो, “नागरिकसित प्रत्यक्ष जोडिएर काम गरेको अनुभवले नगरप्रमुख पद हाँक्न सहयोग हुने छ ।” 

सत्तारूढ गठबन्धनभित्र पालिका बाँडफाँटको विषय टुङ्गो नलाग्दा उम्मेदवार छान्ने प्रक्रियाको सुरुआत नै भएको देखिँदैन । यहाँको जेठो भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख हुनुभएकी सुशीलाचन्द सिंहले पार्टीमा नगरप्रमुखका लागि दाबी प्रस्तुत गर्नुभएको छ । “जित्ने र बलियो जनआधार भएको उम्मेदवार भएकाले पार्टीमा सशक्तरूपमा दाबी प्रस्तुत गरेकी छु”, उपप्रमुख सिंहले भन्नुभयो, “तर पार्टीले उम्मेदवारको विषय टुङ्गो लगाउन बाँकी छ ।” विसं २०७४ को स्थानीय तहको निर्वाचनमा सिंह भीमदत्त नगरपालिकामा नगरप्रमुखको भन्दा बढी मत ल्याएर उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा गाउँपालिकामा समेत महिला उम्मेदवार अध्यक्ष पदका लागि अघि सरेका छन् । यहाँको बेल्डाँडी गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्ष भएकी कमलादेवी कार्की पार्टीमा अध्यक्ष दाबी गर्ने गाउँपालिकाकी एक्ली उम्मेदवार हुन् ।

“यहाँ सात पुरुष र महिलामा मेरो मात्रै दाबी छ”, उहाँले भन्नुभयो, “पार्टीले उम्मेदवार बनाए त जित्ने आधार थियो, उम्मेदवार बनाउन के गर्छ थाहा छैन ।” उहाँले सडक, पुल पुलेसालगायतका पूर्वाधार विकासभन्दा पनि युवा स्वरोजगारका कार्यक्रम आफू अध्यक्ष भइसकेपछि ल्याउने योजना रहेको बताउनुभयो ।

“बेल्डाँडीका ८० प्रतिशतभन्दा बढी पुरुष रोजगारीको सिलसिलामा बाहिर छन्, तिनलाई गाउँमै उत्पादनदेखि रोजगारी दिने खालका प्याकेज ल्याउन आवश्यक छ । गाउँपालिकाको विकासका लागि विज्ञ ल्याएर योजना बनाउने सोचेकी छु”, उहाँले भन्नुभयो, “पालिकाको उपप्रमुख हाँक्न सक्ने महिला नेतृत्व गर्न तयार छन् ।” महिलाले आरक्षणभन्दा पनि क्षमताको सम्मान गर्दै नेतृत्वका लागि महिलालाई अवसर दिनुपर्ने उहाँको भनाइ थियो ।