१३ बैशाख २०८१, बिहीबार 1714088034
राजनीति

हामी अपमान सहनका लागि जन्मेका होइनौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको टिप्पणीसमेत गर्नुभयो । ‘सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्‍यन गर्दै, अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार गर्दै चल्नुभएको छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामी अपमान सहनका लागि जन्मेका होइनौं । हामी विद्रोह गरेर जन्मेका छौं ।’

नेपालले आफूहरुलाई आफ्ना शक्तिमा विश्वास भएको भन्दै मूल्‍याङ्कन र अवमूल्‍यन दुवै ठीक नभएको बताउनुभयो ।