८ बैशाख २०८१, शनिबार 1713613065
समाज

६ घर गोठमा आगलागी हुँदा ३० लाखको क्षति

कपिलवस्तु – कपिलवस्तुमा आज भएको आगलागीबाट ६ घर गोठ जलेर नष्ट भएको छ । जिल्लाको शिवराज नगरपालिका–११ भदौखरमा लागेको आगोले करिब रु।३० लाखको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

स्थानीय मोतीराम अहिरको घरबाट सुरु भएको आगोले सीताराम यादव, रामचन्द्र यादव, अधारे यादव र भिख्की यादवको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष रामेश्वर वर्माले बताउनुभयो ।

आगोले अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्रीहरू पूर्णरूपमा जलेका छन् । दिउँसो ३ बजेदेखि लागेको आगो डेढ घण्टामा स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । तराइका जिल्लामा गर्मी मौसममा हावाहुरी लाग्ने भएकाले फुसको छानो भएका घर उच्च जोखिममा रहेका छन् ।