२०७९ आश्विन ११ मंगलवार 1664263397
Banner

सत्ता गठबन्धनमा सहमति भएन भोलि फेरि बैठक बस्ने

काठमाडौं – चुनावी तालमेल र स्थानीय तहमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । आज साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको आआफ्नै दाबी रहेको कारण सहमति हुन नभएको हो ।

बैठक मंगबार बिहान फेरि बस्ने गरी स्थगित भएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य रमेश मल्लले जानकारी दिनु भयो ।

यसअघि आइतबार बेलुकी ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँटको खाका बनेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा पोखरा महानगरपालिका र केही उपमहानगरपालिकाको प्रमुख कसले लिने भन्नेमा कुरा मिल्न नसकेको हो ।

कांग्रेसले पोखरा महानगरसहित इटहरी र कलैया उपमहानगरमा दावी यथावत राखेको छ । एकीकृत समाजवादीले ६ मध्ये १ महानगर आफूले पाउनैपर्ने र पोखरा उपयुक्त हुने बताउँदै आएको छ । पोखरामा समाजवादीले दाबी यथावत राखेपछि तत्कालै पोखराबारे निर्णय नलिने विषयमा पनि गठबन्धनमा छलफल भएको छ ।

‘पोखरामा अहिले कांग्रेस र समाजवादी दुवैले दावी गर्ने । मनोनयन दर्ता गर्ने बेलासम्म जसको माहोल राम्रो देखिन्छ उसैले लिने गरी मध्यमार्गी प्रस्तावमा पनि छलफल भएको छ’, बैठकमा सहभागी एक नेताले बताउनु भयो ।

गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी थिए ।