८ जेष्ठ २०८१, मंगलवार 1716355616
समाचार

भारतद्वारा सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौं । पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.१०५ करोड आर्थिक सहयोगमा नेपालको बैतडी जिल्लाको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालयको विद्यालय भवनको आज संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र बैतडीको पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको छ ।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना बैतडीमा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६८ वटा एम्बुलेन्स र २९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ५ वटा एम्बुलेन्स बैतडी जिल्लालाई उपलब्ध गराइएको छ ।