७ जेष्ठ २०८१, सोमबार 1716208952
Banner

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…

काठमाडौँ- गृह सचिव एकनारायण अर्यालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गर्नुभएको छ । उहाँले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गर्नुभएको हो ।

यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिर्नुभएका गृह सचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गर्नुभएको थियो ।

यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गर्नुभएका उहाँले अध्यागमनमा डेक्स थप्नेलगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । सो अवसरमा उहाँले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत मन्त्रालयमा पठाउनसमेत निर्देशन दिनुभएको थियो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईसहित अध्यागमन पुग्नु भएका गृहसचिव अर्यालले अध्यागमन विभागका महानिर्देशकलगायतका सम्बन्धित निकायका प्रमुखहरुलाई आ-आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिनुभएको थियो ।

अनुगमनकै क्रममा गृहसचिव अर्यालले भन्नुभयो, “उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्नुहोला । जुनजुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीले इमान्दार भएर त्यो पूरा गर्नु, भएका उपकरणलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरु छिटो सक्नुस् ।”

प्रमुख अध्यागमन अधिकृत थापाले डेस्क थप्ने विषयमा क्यानबाट र तत्कालै थप्नुपर्ने मेसिन विभागबाट समयमै उपलब्ध गराएमा सहज हुने जानकारी दिनुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शर्माले विशेष गरी न्यून स्रोत साधन तथा जनशक्तिका बीच बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले २८ वटा मेसिन सञ्चालनमा रहेका छन् । जुन २४ घण्टा सञ्चालनमा रहन्छन् । यसका लागि तीनवटा सिफ्टमा सञ्चालन गर्दा ८४ जना जनशक्ति आवश्यक पर्छ तर ६० जना प्रहरीले काम गरिरहेका छन् । यहाँ कम्तीमा पनि सय जना प्रहरी अधिकारी आवश्यक छ ।”