४ जेष्ठ २०८१, शुक्रबार 1715944112
Banner

वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि

काठमाडौँ, २० वैशाख : नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो उपाधि ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

पाँच खेलको शृङ्खलाअन्तर्गत आज भएको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २८ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ९ रनको योगफल बनायो । दुई सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सवै विकेट गुमाएर एक सय ८१ रन मात्र बनायो । 

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बल खेल्ने क्रममा नौ चौका र चार छक्का प्रहार गरे । यस्तै जोनसन चाल्र्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५८ रन बनाए । फाबियन एलनले अविजित ३३ रन बनाए । 

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए । नेपालका लागि एक सय ८१ रन बनाउने क्रममा कप्तान रोहितकुमार पौडेलले ८२ रनको योगदान दिए । उनले ४७ बल खेल्दै सात चौका र पाँच छक्का हिर्काए । वेस्ट इन्डिज ‘ए’सँगको पहिलो खेलमा उनले एक सय १२ तथा दोस्रो खेलमा अविजित ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने कप्तान पौडेललाई आराम दिइएको थियो । जारी शृङ्खलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ ।