२०७९ आश्विन १९ बुधबार 1665014823
Banner

६० प्रतिशत बढी मत ल्याएर स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्छौः उपमहासचिव गुरुङ

काठमाडौँ । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल सुशी नेपालीको राष्ट्रिय आकाक्षं पूरा गर्न बहुमतसहितको नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्ने बताउनु भएको छ । नेकपा (एमाले) प्रचार विभागले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आजबाट सुरु गरेको फेसबुक लाईभ कार्यक्रममा कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘समृद्ध नेपाल सुशी नेपालीको राष्ट्रिय आकाक्षं पूरा गर्न बहुमतसहितको नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्छ,’ उपमहासचिव गुरुङले भन्नुभयो, ‘अरु राजनीतिक दलहरु सिंहदरबारमा बसेर गठबन्धनको गफ गरिरहेका छन् । हामी चुनावी प्रचार अभियानमा गाउँगाउँमा पुगेका छौँ । हिजोको भन्दा अहिलेको एमाले शक्तिशाली छ । हामी स्थानीय र प्रदेश–संघको निर्वाचनमा ६० प्रतिसत बढी मत ल्याएर स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्छौ ।’

उहाँले गुमेको भ–ूभाग फिर्ता लिन र समृद्धिको सपना छ पूरा गर्न पनि नेकपा एमालेले पाँच वर्ष सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो । ‘अहिले सत्ता गठनबन्धन मुखमा पसेको छुचुन्द्रो जस्तो भएको छ, सिंहदरबारमा बसेर कुन पद कस्ले पाउने भन्ने झगडामा छन्,’ उहाँले भन्नुभयो, ‘हामी कहाँ–कहाँ उम्मेदवार उठाउने भन्ने तयारीमा जुटेका छौँ । एमालेको यो तयारी निर्वाचनमा बहुमत ल्याएर संवृद्ध नेपाल खुशी नेपालीलाई सार्थक बनाउने हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको सपना पूरा गर्नका लागि हो ।’

प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहनु भएका उहाँले एमालेसँग मुलुकभरी नै अभूतपूर्व आकर्षण बढेको पनि दाबी गर्नुभयो । ‘वामआन्दोलनप्रति निष्ठा भएका सबै पार्टीका मान्छे एमालेमा प्रवेश गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘जतिसुकै गठबन्धन गरे पनि हामी ६० प्रतिशत कटाउछौँ । हिजो विभाजित एमाले चुनावमा गएको थियो, अहिले त्यस्तो अवस्था छैन, कमाण्डर एउटै छ । त्यसले ठूलो उर्जा प्राप्त भएको छ ।’ उहाँले एकिकृत पार्टी भएका कारण अहिलेको परिस्थितिमा एमाले पहिलो भन्दा थप उचाई र उर्जाका साथ चुनावी मैदानमा जाँदै गरेको पनि उहाँले बताउनुभयो । ‘एमाले विदेशीसँग घुँडा टेक्दैनन् भन्ने सन्देश पुगेको छ,’ उहाँले भन्नुभयो, ‘जनताको आशा र भरोसाको पार्टी एमाले बनेको छ ।’