११ बैशाख २०८१, मंगलवार 1713926146
समाचार

स्थानीय चुनावमा दलितको सार्थक सहभागिताको माग राख्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र

काठमाडौं । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा दलित समुदायको सार्थक सहभागिताको माग राख्दै दलित अभियन्ताहरूले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपालले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेरै ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

अभियानका संयोजक खगेन्द्र सुनारलगायतको टोली आइतबार आयोग पुगेको थियो । सो क्रममा प्रमुख आयुक्त थपलियाले गत चुनावमा १७५ वडामा दलितको प्रतिनिधित्व हुन नसेको भन्दै यो पटक सो अवस्था आउन नदिन आयोग चनाखो रहेको बताएका छन् । उनले दलित समुदायको सार्थक सहभागिताका लागि राजनीतिक दलहरूलाई पनि घचघच्याउनुपर्ने बताए । मतदान गर्दा पनि दलित समुदाय चनाखो हुनुपर्ने उनको भनाइ छ ।

अभियानका संयोजक सुनारले राज्यका निर्णायक निकायमा दलितको उचित प्रतिनिधित्व हुनुपर्ने भन्दै आसन्न स्थानीय चुनावमा दलितको सार्थक सहभागिता सुनिश्चित हुनुपर्ने बताए । उनले दलितलाई जिम्मेवारी दिए राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण धनगढीका मेयर नृप वड बनेको उल्लेख गर्दै १३ प्रतिशत समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताए ।

उनले दलित समुदाय भ्रष्टाचारमा संलग्न नरहेको, अपराधमा संलग्न नरहेको, देशको सीमा बेच्ने स्थानमा नरहेको उल्लेख गर्दै इमान्दार समुदायलाई राज्यको नीति निर्माणमा पुर्‍याउनुपर्ने बताए ।