२२ बैशाख २०८१, शनिबार 1714814362
Banner

मनास्लुको वीरेन्द्र तालमा हिमपहिरोका कारण गोरखामा बाढी

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ ।

तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको छ । स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौँकीको टोली ताल रहेको क्षेत्रमा पुगेको बताइएको छ । तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने नौ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका । बाढीले नदी आसपासमा क्षति गर्न सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले बताए । बाढीले क्षति सक्ने मानव बस्ती धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ । मौसम परिवर्तनपछि जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ ।

तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ ।