३ जेष्ठ २०८१, बिहीबार 1715864385
Banner

ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुलाउने व्यवसायीको घोषणा

काठमाडौं । नयाँ वर्ष २०८१ देखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।

बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौँले बनाएको आचारसंहिता बमोजिम कानुनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४ सैं घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रूपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताउनुभयो । उहाँले अहिले ठमेलमा मात्रै आठ हजारभन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताउनुभयो । उहाँले दरबारमार्ग जस्तो ठमेलमा २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको जानकारी दिनुभयो ।

अध्यक्ष शर्माले स्थायी बसोबास गर्ने क्षेत्र र ठुलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौती रहेको जानकारी दिनुभयो । उहाँले स्वदेशी तथा विदेशी पर्यटकले २४ सैं घण्टा ठमेलमा घुम्न, बस्न, खान सक्ने अनुभूति गर्ने बताउनुभयो । उहाँले परिषद् ठमेललाई व्यवस्थित बनाएर आकर्षणको केन्द्र बनाउनु चाहेको दाबी गर्नुभयो ।

उहाँले ठमेल भगवान् बहाल क्षेत्र भित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने जनाउनुभयो । उहाँले ठमेलको भगवान् बहालमा स्थानीयको बसोबास भएकाले १० देखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने बताउनुभयो ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिब दुई सय व्यवसायी रहेको बताउनुभयो । उहाँले करिब सात हजारभन्दा बढी रोजगारी पाएको बताउनुभयो । उहाँले दरबारमार्ग विकास बोर्डले विगत लामो समयदेखिको प्रयास अहिले सफल हुन थालेको बताउनुभयो ।