३ जेष्ठ २०८१, बिहीबार 1715869941
Banner

शुभकामना साटासाट गरी आज ईद उल फित्र मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र आज मनाईदै छ । रमदान महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी आज ईद उल फित्र (ईद) मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौब्बाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वीले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेबईको खिर र मिष्ठान्न परिकार खाने चलन छ।

यस पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा रहेको छ ।