६ जेष्ठ २०८१, आईतवार 1716136422
Banner

आफ्नै मन्त्रीले सहकारीको २३ लाख ठगी भयो भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन : रामहरि खतिवडा

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नै पार्टीबाट मन्त्री बनेका डीपी अर्याललाई न्याय दिन आग्रह गरेका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्री अर्यालले सहकारीबाट ठगिएँ भन्दा पनि गृहमन्त्रीको ध्यान नगएको भन्दै टिप्पणी गरका हुन् ।

सांसद खतिवडाले निर्दोष भए छानबिन समिति बनाउनबाट किन भागेर हिँड्नुपर्‍यो ? भन्दै प्रश्न गरे।

उनले भने, हामीले छानबिनको माग गर्दा म निर्दोष छु छानबिन हुनु हुँदैन भनिन्छ। हामीले कसैलाई दोषी करार गरेका छैनौँ। निर्दोष छ भने एउटा संसदीय छानबिन समिति गठन गरौँ त्यो समितिले जे भन्छ त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ रु हामीले फेरि पनि भन्यौँ हामीले कसैसँग पूर्वाग्रह राखेका छैनौँ। हामी कसैलाई फसाउन चाहँदैनौँ। तर, गल्ती छैन भने भन्न सक्नुपर्‍यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ।

आफूहरू संसद् अवरोध गर्ने पक्षमा नरहेको बताउँदै उनले सरकार नै सहमतिको बाटोमा नहिँडेको बताए।