४ जेष्ठ २०८१, शुक्रबार 1715986516
Banner

शीर्ष नेतासित सभामुखको छलफल दिउँसोलाई सरयो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसित गर्न लागेको छलफलको समय परिवर्तन गरिएको छ । बैठकको समय आज दिउँसो २ बजेका निम्ति सारिएको हो ।

आजै बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आह्वान गरिएको थियो । तर, विभिन्न कारणले बैठक दिउँसो बस्ने भएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका विषयमा सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरूसित छलफल गर्न लागेका हुन् । छलफलका निम्ति सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बोलाएका छन् ।

सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ । छानबिन समिति नबनाइए भोलिदेखि संसद् बैठक अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।