८ बैशाख २०८१, शनिबार 1713611915
Uncategorized

विमानस्थलमा सञ्चालित सटल बस सेवाले यात्रुलाई सहज

काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महँगो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीन माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको थियो ।

ती बसहरूले धमाधम सेवा दिन थालेपछि यात्रुलाई अहिले निकै सहज तथा राहत भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सटल बस सेवाले यात्रुलाई निकै राहत भएको छ, विमानस्थलमा आएका यात्रुहरूलाई गाडी पाउनै मुस्किल पर्ने समस्या हटेको छ ।” उहाँका अनुसार सटल बसहरूले दैनिक रुपमा बिहानदेखि बेलुकीसम्म आफ्नो सेवा दिन थालेपछि ट्याक्सी चालकको झन्झटबाट यात्रुहरूले मुक्ति पाएका छन् । बस सेवाले विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेनदेखि विमानस्थलसम्म निःशुल्क सेवा दिँदै आएपछि त्यहाँ यात्रा गर्ने सयौँ यात्रुलाई सहज भएको छ ।

सो सेवा सुरु भएपछि यात्रुका सरसामानदेखि अन्य कुराहरू गोल्डेन गेटसम्म लैजान र विमानस्थलसम्म पु¥याउन सहज भएको हुँदा यात्रुहरू खुसी भएका विमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “ सटल बस सेवा सुरु भएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ, उक्त कामको यात्रुले खुलेर प्रशंसा गरिरहेका छन् ।

विमानस्थलले वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जाने श्रमिकहरूका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ । विश्रामस्थलमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्ज, फ्लाइट डिस्प्ले, वाइफाई र मन्त्रालय/विमानस्थलको हटलाइन नम्बर राखिएको छ । वैदेशिक रोजगारमा जाने यात्रुहरूलाई कुनै समस्या परे उक्त हटलाइनमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

हाल कूल २५ क्षमता भएको उक्त विश्रामस्थल निकट भविष्यमा ३०० व्यक्ति अटाउने क्षमताको बनाइने बताइएको छ ।