६ जेष्ठ २०८१, आईतवार 1716181506
समाचार

भारत सरकारको आर्थिक सहयोगमा निर्मित श्री जेष्ठ वर्ण महाविहार भवन उद्घाटन

काठमाडौं । भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नयाँ भवनको नेपाल सरकार शहरी विकास मन्त्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

ललितपुरमा आज आयोजित उद्घाटन कार्यक्रममा विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता INTACH का प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब नेरु १३.७८ करोड अनुदान सहयोगमा पुनर्निर्माण भएको हो । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।

सोही अवसरमा बोल्दै शहरी विकास मन्त्री बुढाले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गर्नुभयो ।

भारत र नेपालको ऐतिहासिक साँस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक छ । तसर्थ यस्ता सम्पदा क्षेत्रहरुको पुनस्र्थापना गर्ने साझा प्रयास रहेको छ । यो हातेमालोले दुई देशबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले हाम्रो साझा साँस्कृतिलाई पनि प्रतिबिम्बित गर्दछ ।

भारत सरकारले नेपालका ७ वटा जिल्लामा रहेका २८ वटा साँस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्घता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५०००० निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दशवटा जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ ।

यो परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्याएको छ ।