७ जेष्ठ २०८१, सोमबार 1716184802
Banner

विदेशी पर्यटकसहित दुई जनाको लेक लागेर मृत्यु

मुस्ताङ । मुस्ताङमा लेक लागेर २ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक भारतीय र एक नेपाली दर्शनार्थी पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मोरङ जिल्ला पगरी शनिश्चरे नगरपालिका १ निवासी ६५ वर्षीया गोमादेवी लुइँटेलको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए। उनका अनुसार मोरङदेखि मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मनकामना बचत तथा ऋण सहकारी संस्थाका ७४ जना सदस्य बस रिजर्भ गरी धार्मिक यात्राका लागि मुस्ताङ आएका थिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मिलनबहादुर विकको कमाण्डमा खटिएको ५ जनाको टोलीले घटनाको विवरण तथा शवको मुचुल्का उठाएर मृतकको शव आफन्तलाई जिम्मा लगाएको छ। यसअघि आइतबार बिहान ३ बजेको समयमा होटलमा बास बसेका एक भारतीय पर्यटकको मुस्ताङ जिल्ला अस्पतालमा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

भारतको हैदरावादबाट मुक्तिनाथ दर्शनका लागि ४१ जना भारतीय धार्मिक तिर्थालु पर्यटक मुस्ताङ आएका थिए। अघिल्लोदिन मुक्तिनाथ दर्शन गरी फर्किएर जोमसोममा बास बसेका उनीहरूमध्ये ८३ वर्षीय बी नारायणलाई लेक लागेर स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले उक्त घटनाको समेत विवरण संकलन गरी मुचुल्का उठाएर शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी पाण्डेयले जानकारी दिए। योसँगै मुक्तिनाथ दर्शन गर्न आउने क्रममा लेक लागेर मृत्यु हुनेको संख्या चालु वर्षमा ७ जना पुगेको छ। अघिल्लो वर्ष १२ जनाको लेक लागेर मृत्यु भएको थियो भने त्यसअघिको वर्ष ६ जना पर्यटकले लेक लागेर ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ।