५ जेष्ठ २०८१, शनिबार 1716076244
समाचार

भारतीय राजदूतावासले यसरी मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । द्रुतावासले माइती नेपालको प्रांगणमा २०८० फाल्गुण २३ गते अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो “Invest in Women: Accelerate Progress” and “Inspire Inclusion” भन्ने नाराका साथ महिलाहरुको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपालकै पहिलो महिला मुख्यमन्त्री श्रीमती अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा माइती नेपालकी संस्थापक श्रीमती अनुराधा कोइरालासँगै भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, माइती नेपालका छात्राहरु लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्घिका लागि गरेको अथक प्रयासको प्रशंसा गर्नुभयो । नियोग उप–प्रमुख श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले श्रीमती कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै वहाँले यस क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताउनुभयो ।

श्रीमती अष्टलक्ष्मी शाक्यले भारत र नेपालबीच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तिकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती अनुराधा कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत कार्यक्रम बारे जानकारी गराउनुभयो । वहाँले राजदूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा श्रीमती अष्टलक्ष्मी शाक्य र नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले सुश्री मेनुका पौडेल र श्रीमती रत्न कुमारी सुनुवारलाई वहाँहरुको प्रेरणादायी उपलब्धिका लागि सम्मान गर्नुभएको थियो । काठमाडौंकी सुश्री मेनुका पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल (२०२३) मा प्रशंसा बटुल्न सफल भएकी थिइन् । श्रीमती रत्न कुमारी सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्र्तीण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने देखाउदै चर्चा कमाएकी थिइन् । सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरुलाई उपहार स्वरुप पुस्तक प्रदान गरेको थियो ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरुले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । सुश्री मेनुका पौडेलले पनि सुमधुर गीतहरु गाएर दर्शकलाई मोहित बनाएकी थिइन् ।

भारत र नेपालबीचको बलियो सम्बन्धलाई प्रवद्र्घन गर्न र बालिका एवम् महिला सशक्तिकरणका लागि नेपाल सरकारको प्रयासलाई सघाउ पुर्याउन भारतीय राजदूतावास काठमाडौं प्रतिबद्ध रहेको छ ।