४ जेष्ठ २०८१, शुक्रबार 1715987628
Banner

भारत पुगी फर्केका एक तीर्थयात्रीको मृत्यु

बारा : भारतका विभिन्न तीर्थस्थल पुगी फर्कने क्रममा बाराका एक तीर्थयात्रीको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले मृत्यु हुनेमा महागढीमाई नगरपालिका-६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहा रहेको जानकारी दिनुभयो ।

करिब एक सय जनाको समूहसहित कुशवाह २५ दिनअघि धार्मिक यात्रामा निस्कनुभएको थियो । भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उहाँ कलैया उपमहानगरपालिका–१२ स्थित नेरा आधारभूत विद्यालयमा विश्राम गर्नुभएको थियो ।

उहाँ हिजो खाना खाएर सुत्नुभएको र आज बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी पर्नुभएको थियो र उहाँलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । उहाँको शव प्रदेशिक अस्पताल कलैयामा राखिएको छ । उहाँको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।