८ बैशाख २०८१, शनिबार 1713598231
विश्व

क्रिप्टोकरेन्सी प्रयोग गरी उत्तर कोरियालाई सघाउने अमेरिकी विद्वान दण्डित

वासिङटन । एउटा क्रिप्टोकरेन्सी समूहका अमेरिकी पूर्व अनुसन्धानकर्तालाई उत्तर कोरियालाई क्रिप्टोकरेन्सी प्रयोग गरी अमेरिकी आर्थिक प्रतिबन्ध तोड्न मद्दत गरेको अभियोगमा पाँच वर्ष भन्दा लामो काराबास सजाय सुनाइएको छ ।

भर्जिल ग्रिफिथ नामक ती व्यक्तिलाई अमेरिकी कानुन उल्लंघन गर्न षडयन्त्र गरेको आरोपमा दोषी ठहराइएको छ । उनी पहिले क्रिप्टोकरेन्सीसम्बन्धी प्रविधिमा आधारित गैरआयमुलक संस्था एथेरम फाउन्डेसनमा काम गर्ने गर्थे । 

वकिलहरूले उनलाई न्यूनतम कैद र १ लाख डलर जरिबाना गरिएको बताएका छन् । ३९ वर्षीय ग्रिफिथलाई अधिकतम २० वर्ष कैद र १० लाख डलर जरिबाना हुनसक्थ्यो । न्यायधीशले उनले भविष्यमा जीवनलाई सकारात्मक ढंगले अघि बढाउने बताएको र प्रतिभाका धनी उनले मुलुकलाई धेरै योगदान गर्न बाँकी रहेकाले उनको सजायमा विचार गरिएको बताएका छन् । 

गत सेप्टेम्बरमा ग्रिफिथलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा गएर ब्लकचेन प्रविधिमा प्रस्तुतीकरण गरेर अमेरिकी अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति कानुन उल्लंघन गर्न षडयन्त्र गरेको आरोपमा दोषी ठहराइएको थियो ।

वकिलहरूले अमेरिकी विदेश विभागले रोक्दारोक्दै क्यालिफोर्निया प्रविधि प्रतिष्ठानबाट बिद्यावारिधि गरेका उनी सन् २०१९ को अप्रिलमा प्योङयाङ ब्ल्कचेन तथा क्रिप्टोकरेन्सी सम्मेलनमा भाग लिनका लागि चीन हुँदै उत्तर कोरिया पुगेको बताएका छन् । 

बीबीसीबाट ।