१३ बैशाख २०८१, बिहीबार 1714090152
Banner

भरतपुर मेयरमा रेणु दाहाललाई भोट हाल्न कांग्रेस कार्यकर्ता तयार छैनन्, जबर्जस्ती गर्नु राम्रो होइन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले स्थानीय तहमा जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डाले आफ्नो पार्टीलाई ठूलो घाटा लाग्ने बताउनुभएको छ । एक रेडियोसँग कुरा गर्दै नेता भण्डारीले भन्नुभयो, “अहिले सबै स्थानीय तहमा जबर्जस्ती गठबन्धनको कुरा आएको छ । त्यसले स्थानीय तहलाई विचलित र अप्ठ्यारोमा पारिदिएको छ । अनावश्यक द्वन्द्व निम्त्याएको छ । यसले सही दिशा सक्दैन । हामीले सिंहदरबारले तल्लो तहलाई चिनेन भनेर स्थानीय तहको व्यवस्था गरेका हौं । स्थानीय तहलाई नै आफ्नो नेतृत्व छनोट गर्न किन नदिने ?”

काठमाडौंको एउटा कोठामा बसेर गरिएको भागबन्डाले कांग्रेस पार्टी नै समस्यामा पर्ने उहाँको टिप्पणी थियो । नेता भण्डारीले भन्नुभयो, “काठमाडौंमा पाँच जना नेता बसेर गरिएको क्राइटेरिया जनताले कसरी मान्ने ? जहाँ गठबन्धन आवश्यक छैन, त्यहाँ जबर्जस्ती किन लाद्ने ? यस्तो क्रियाकलापले कांग्रेसको एउटा तप्का निराश हुन्छ, पार्टी छाडेर जान्छन् । त्यसैले नेताहरुले बहुलट्ठी निर्णय लागू हुन्छ भन्ने छैन ।

तल्लो तहबाट सिमेन्टेड गरेर जानुपर्छ । कांग्रेसको लक्ष्य र इतिहासबाट विचलित भइरहेका छौं । काठमाडौंले छानेर सम्भव हुन्छ ? महानगर छाने हुन्छ । बाहेक नगरपालिका, स्थानीय तहको अधिकार उहाँहरुलाई दिएको छैन ।”

नेता भण्डारीले आफ्नो पार्टीको आफ्नो विचार, विवेक र दृष्टिकोणलाई अनुसार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो पार्टीभित्रै मिल्न नसक्ने अनि अरुको पार्टीसँग कसरी मिल्ने ? मिलेर जान त सकिएला तर अरुको अधिकार हनन गर्न मिल्दैन ? माथिबाट आदेशलाई निर्मूल गरेर जान लोकतन्त्र ल्याएको होइन र ?”

साथै उहाँले कार्यकर्तालाई सन्तुष्ट नबनाईकन गरिएको गठबन्धन सफल नहुने ठोकुवा गर्नुभयो। भण्डारीले भन्नुभयो, “कांग्रेस कार्यकर्ताले ५ दलको होइन, कांग्रेसको निर्णय मान्ने हो । भरतपुरमा रेणु दाहाल त उठ्नु होला । तर भोट त कांग्रेसले हाल्नुपर्ला नि । आफ्ना कार्यकर्ताहरुलाई सन्तुष्ट नभईकन कसरी गठबन्धन सफल हुन्छ ? यस्तो कुरा शेरबहादुरजी, प्रचण्डजीलाई कसले सम्झाउने ? काठमाडौंको एउटा कोठामा बसेर गरेको बहुलट्ठी भागबन्डा मान्नुपर्छ भन्ने छैन ।”